April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

माओवादीका लुम्बिनी प्रदेशमा क्रियाशील सदस्य करिव ९० हजार

भैरहवा– नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा क्रियाशील सदस्यता संख्या करिब ९० हजार पुगेको छ । प्रदेशका १२ जिल्लामा गरी हालसम्म ७४ हजारभन्दा बढी सदस्यको नाम कम्प्युटरमा इन्ट्री भइसकेको छ ।

Advertisement

निर्धारित समयभित्र क्रियाशील सदस्य करिब ९० हजार पुग्ने लुम्बिनी प्रदेश पार्टी कार्यालयका सचिव सुदर्शन बरालले बताए । उनका अनुसार पछिल्लो समय माओवादी केन्द्रको क्रियाशील सदस्यता लिनेहरुको संख्या ह्वात्तै बढेको छ ।

Advertisement

विगतमा मोहन वैद्य ‘किरण’ले पार्टी फुटाएपछि माओवादी केन्द्रले गाविस सम्मेलन गर्दा गुल्मीमा तीन हजार ६०० जनाले क्रियाशील सदस्यता लिएकोमा हाल सो जिल्लामा ५ हजार ३५७ जनाले कम्प्युटरमै सदस्यता इन्ट्री गरिसकेका छन् ।

क्रियाशील सदस्यताका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएअनुसार रुपन्देहीमा ६ हजार ५३९ जनाले सदस्यता भरेका छन् । यस्तै, पाल्पामा ३ हजार ४६१ जना, नवलपरासी पश्चिममा ३ हजार २५१ जना, कपिलवस्तुमा ३ हजार ४२४ जना र अर्घाखाँचीमा २ हजार १५२ जनाले सदस्यता भरेका छन् ।

त्यस्तै प्युठानमा ५ हजार ३२४, दाङ्गमा १३ हजार ९०५, बर्दियामा ११ हजार ७३६, रोल्पामा १४ हजार ८५९, रुकुम पश्चिममा ५ हजार ९५४ र बाँकेमा ८ हजार ९०२ जनाले सदस्यता भरेको बरालले जानकारी दिए ।

उनका अनुसार देशभर माओवादी केन्द्रको क्रियाशील सदस्य संख्या करिब ८ लाख पुग्ने अनुमान छ ।