December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

लुम्बिनीमा एक सय शय्याको अस्पताल निर्माण सम्झौता

लुम्बिनी– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको पहलमा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनले अस्पताल निर्माण गरिदिने भएको छ । फाउन्डेसन र लुम्बिनी नगरपालिकाबीच बिहीबार निर्माण सम्झौता भएको छ । जसमा नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिनु पर्ने र फाउन्डेसनले निर्माणको व्यवस्थापन गर्ने उल्लेख छ ।

Advertisement

सम्झौताअनुसार स्त्री तथा प्रजनन् स्वास्थ्य उपचारलाई प्राथमिकता दिए पनि अस्पतालले अन्य सेवासमेत संचालन गर्ने छ । सम्झौतामा नगरपालिकाका प्रमुख मनमोहन चौधरी र फाउण्डेशनका अध्यक्ष जोस म्यानुअल भिलानोभाले हस्ताक्षर गरे । नगर प्रमुख चौधरीले एक महिनाभित्र नगरपालिकाको १० नम्बर वडामा जग्गा व्यस्थापन गरी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्झौताअनुसार यहाँ एक सय शय्याको अत्याधुनिक अस्पताल बन्ने छ । लुम्बिनी तथा यस आसपासका महिलाहरुका देखिएको स्त्री तथा प्रजनन् स्वास्थ्य सम्बन्धि समस्यालाई ध्यानमा राख्दै अन्य सुविधासहित अस्पताल निर्माणको तयारी थालिएको फाउण्डेसनले बताएको छ ।

राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुम्बिनी अहिले पनि धेरै कुरामा पछाडी रहेको बताउँदै फाउण्डेशनको सहयोगमा यस क्षेत्रमा अस्पताल निर्माण हुन लाग्नु सुखद सुरुवात भएको जनाए । यस्तै, फाउण्डेशन र नवलपरासीको सुनवल नगरपालिका र सुस्ता गाउँपालिका बिभिन्न विषयमा सहयोग गर्ने गरि सम्झौता भएको छ ।

वातावरण, सरसफाई, संस्कृति, कृषि लगायतका क्षेत्रहरुमा सहकार्य हुने गरि सम्झौता भएको हो । सम्झौतामा सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे र सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा क्षेत्री तथा लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोस म्यानुअल भिलानोभालेले हस्ताक्षर गरेका थिए ।