April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

रनवेमा बँदेल आउन नदिन नेपालगञ्ज विमानस्थलको झाडी सफाइ

बाँके – नेपालगञ्ज विमानस्थल आसपासमा रहेको झाडी हटाएर सरसफाइ गरिएको छ।

Advertisement

झाडीबाट विमानस्थलको रनवेमा बँदेल आउँदा पटक–पटक जहाजमा ठोकिएको छ। जसले गर्दा जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा चारवटै सुरक्षा निकायका प्रतिनिधिले विमानस्थल आसपासमा सरसफाइ गरेका छन्।

Advertisement

मंगलबारमात्रै हुम्ला उड्न थालेको सीता एयरको जहाजमा बँदेल ठोक्किएको थियो। जहाजसँग ठोक्किएको तीन वटा बँदेल मरेको थियो। त्यसअघि बुद्ध र यती एयरका जहाजमा पनि बँदेल ठोक्किसकेको छ।

नजिकको झाडीमा रहेको बँदेल रनवेमै आएर जहाजसँग ठोकिने गरेपछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, एसपीत्रय श्यामकृष्ण अधिकारी, अशोक बम र नरेन्द्र गिरीको उपस्थितिमा बुधबार झाडी सफा गरिएको छ।

झाडी सफा गर्न नेपाली सेनाका ९० जना, सशस्त्र प्रहरी ३५ र नेपाल प्रहरीका २५ जना सुरक्षाकर्मी परिचालन भएका छन्। रनवेको नजिकै बाक्लो झाडी र खोलासमेत रहेकाले बँदेल, स्याललगायतका जनावर बस्ने गर्दछन्। यी जनावर बेलाबेलामा रनवेमै आएर विमानसँग ठोक्किने गरेका छन्। रनवेमा जहाजसँग जनावर पटक–पटक ठोक्किए पनि अहिलेसम्म ठूलो मानवीय क्षति भएको छैन।

नेपालगञ्ज विमानस्थलका फायर सेक्सन प्रमुख सुमित पराजुलीले रनवे नजिकको झाडीबाट पटक–पटक बँदेल निस्केर सुरक्षामा चुनौती दिएकाले झाडी सफा गरिएको बताए। उनले सकेसम्म सबै झाडी सफा गर्ने बताए।