December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

चम्ल्याहामध्ये दुई शिशुको मृत्यु

भैरहवा– भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पाल्पा माथागढीकी सीता सार्कीले जन्माएका चम्ल्याहा शिशुमध्ये दुईको मृत्यु भएको छ । गएको शनिबार र आइतबार राति एक–एक शिशुको मृत्युको अस्पतालले जनाएको छ ।

Advertisement

सीता र सन्तोष सार्कीको विवाह भएको आठ वर्ष पछि चम्ल्याहा शिशुको जन्म भएको थियो । निकै प्रयासका बीच पनि यसअघि उनीहरुको सन्तान हुन सकेको थिएन । चिकित्सकीय परामर्शपछि एकैसाथ चार जना छोरीले जन्म भएको थियो ।

गर्भ रहेको सात महिना नपुग्दै शल्यक्रिया गरेर शिशु जन्मिएका हुन् । कम दिनमा जन्मिएकाले शिशुको तौल औसत भन्दा तल छ । सामान्यतः नवजात शिशु जन्मँदा साढे दुई किलो तौल हुनुपर्ने मानिन्छ । उनीहरुको तौल एघार सय ग्रामकोबीचमा छ । शारिरीक विकास नहुँदै जन्मिएकाले नवजात सघन हेरचाह इकाईमा चिकित्सकको निगरानीमा राखिएको छ ।

चिकित्सकका अनुसार अन्य दुई शिशुको अवस्थामा पनि सुधार आउन सकेको छैन । चारै शिशुलाई बचाउने भन्दै विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेका थिए । तर दुई शिशु बच्न सकेनन् । कात्तिक ६ गते अस्पताल भर्ना भएकी सीताको नौ गते शल्यक्रिया गरिएको थियो ।