March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

मारिए ८८ कृष्णसार

बर्दिया– मुलुककै दुर्लभ वन्यजन्तु कृष्णसार जोगाउन सबै लागिपरेका छन् । खासगरी वन्यजन्तुसँग सरोकार राख्ने धेरै निकाय यसका केन्द्रित छन् । तर चितुवा, हुडार, स्यालको आक्रमणमा मारिन थालेपछि कृष्णसार उच्च जोखिममा छन् । यसलाई जोगाउन संरक्षणमा खटिएका कर्मचारीलाई चुनौति बन्दै गएको छ । वन्यजन्तु विज्ञ, सरोकारवाला चिन्तित छन् ।

Advertisement

गत वर्ष साउन देखि यस वर्ष असार मसान्तसम्म मात्रै ८५ वटा कृष्णसार मारिएका छन् । ती मध्ये चितुवाबाट ६५ वटा कृष्णसारलाई आक्रमण गरि मारेको बर्दिया संरक्षण क्षेत्रका रेन्जर मनराज लामा मोक्तानले जानकारी दिए । सोही अवधीमा स्याल, हुडार र कालगतिबाट २० वटा मारिएका छन् । आव ०७८–७९मा तीन वटा कृष्णसार चितुवाले मारेको रेन्जर मोक्तानले बताए ।

Advertisement

संरक्षण क्षेत्रसंग जोडिएको उत्तर-पूर्वतर्फ रहेको सामूदायिक वनबाट निस्कने चितुवाले कृष्णसारले लखटेर मार्ने गरेको छ । तीन वर्ष अघिसम्म करिब तीन सयसम्म पुगेको कृष्णसार संख्या अहिले घटेर १ सय ७० मा झरेको संरक्षणको कार्यालयले बताएको छ ।

हाल भाले ४३, पोथी १ सय १२ र बच्चा १५ छन् । पटक–पटक चितुवाको आक्रमणले केही कृष्णसार अन्यत्र पलायन भएका छन् । चितुवाको आक्रमण रोकिएन भने एक–दुई वर्षमा कृष्णसार लोप हुने संरक्षण क्षेत्रका कर्मचारी बताउँछन् ।

०७१ साल साउनको अन्तिम साता आएको बाढीले बगाएर ४० वटा कृष्णसारको मृत्यु भएको थियो । मुलककै दुर्लभ मानिएको कृष्णसार बर्दियाको सदरमुकाम गुलरिया-२ स्थित खैरापुर संरक्षण क्षेत्रमा फैलिएर रहेका छन । संरक्षण क्षेत्रमा रहेका तुलसीपुर र बेचैपुरमा रहेको संरक्षित वनमा रहेका चार वटा चितुवाले पटक–पटक आक्रमण गरेपछि कृष्णसार संकटमा परेको हो ।

वर्षेनि ५० देखिमाथि कृष्णसारको मृत्यु हुने गरेको छ । ती सबै चितुवा, हुडार र कालगतिले कृष्णसार मारिएका थिए । चरीचरण क्षेत्रमा पर्याप्त पानी र दुबो घाँस नहुनुले पनि वन फाँटा क्षेत्रमा चरिचरण गर्दा चितुवाले आक्रमण गर्न थालेको छ । संरक्षण क्षेत्रसंग जोडिएको सामुदायिक वनमा रहेको चितुवाको आक्रमणले कृष्णसार उच्च जोखिममा रहेको स्थानीयले बताए ।

चितुवाको आक्रमण रोक्ने प्रयास नहुँदा कृष्णसार मारिँदै गएको छ । संरक्षित क्षेत्रका कर्मचारीले खासै चासो नदिएको गुलरिया—२ का वडा अध्यक्ष टंक अधिकारीले बताए । ‘पहिले–पहिले कर्मचारीले राती गस्ती गर्थे, अहिले गरेको पाइँदैन,’ उनले भने, ‘चितुवा व्यवस्थापन नभएसम्म कृष्णसार मात्र नभई आसपासका वस्तीमा बाख्रा मारिने क्रम पनि जारी रहन्छ ।’