December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

भैरहवामा तिहार महोत्सव हुने

भैरहवा– सिद्धार्थनगर नगरपालिका–९ स्थित गोनहिया गाउँका बालबालिका तथा महिलाहरुको सहयोगार्थ भैरहवामा तिहार महोत्सव हुने भएको छ । लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथको आयोजना यही कार्तिक १४ दिउँसादेखिे महोत्सव हुन लागेको हो ।

Advertisement

आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएका हुन् । क्लबका अध्यक्ष तनु शर्मा कसौधनले गोनहिया गाउँमा शिक्षा, स्वास्थ्य, क्षमता अभिबृद्धिगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।

महोत्सवमा गायक अफसर अलीको विशेष प्रस्तुती रहनेछ । यस्तै, प्रत्यक्ष संगीत प्रदर्शन, किनमेल स्टलहरु, फूड स्टलहरु, फोटो बुथ, मनोरंजन, परम्परागत नृत्यहरु प्रस्तुत हुने अध्यक्ष कसौधनले जानकारी दिइन् । ‘हाम्रो उद्देश्य परम्परा, कलासंस्कृतिको जगेर्नासँगै सामाजिक क्षेत्रमा काम गर्नु हो’, उनले भनिन् ।

फूड स्टलमा विभिन्न परिकारका खानाहरु राखिने छ । महोत्सवमा सहभागी हुन आयोजकले सबैलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा लायन्स क्लबका एमजेएफ नन्दलाल गोयन्काले सामाजिक कार्यका लागि आयोजित महोत्सवमा सबैलाई सहयोग गर्न आग्रह गरे । लायन्स अगुवा रुक्मा हिराचनले रमाइलोसँगसँगै समाजिक क्षेत्रमा पनि केही गरौं भन्ने उद्देश्यसाथ कार्यक्रम आयोजना गरिएको बताइन् । उनले कार्यक्रम सफल पार्न भैरहवाबासीले विशेष सहयोग गर्ने अपेक्षा व्यक्त गरिन् ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले कार्यक्रम कलासंस्कृतिको संरक्षणसँगै सहयोगार्थ भएकाले क्लबले तनमनले सहयोग गर्ने बताए । कार्यक्रम संयोजक माधुरी थापाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कार्यक्रम सफल हुने विश्वास व्यक्त गरिन् । उनले सामाजिक क्षेत्रमा केही गरौं भन्ने उद्देश्यकासाथ महोत्सव आयोजना गरिएको बताइन् । थापाले महोत्सवबाट बचेको रकम गोनहिया गाउँमा सहयोगार्थ खर्च गरिने जनाइन् ।