December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

राजेश हमाल धारा सातौं नेपालगञ्ज म्याराथनमा दौडिने

बाँके – पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जमा मंसिर ४ गते सातौं संस्करणको धारा सातौं नेपालगञ्ज म्याराथनमा हुँदैछ। म्याराथनमा महानायक राजेश हमाल पनि दौडिने भएका छन्।

Advertisement

आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले अतिथिको रूपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने बताए । अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज म्याराथनमा महानायक हमालको उपस्थितिले अझ हौसला थपिएको बताए।

नेपालगञ्ज म्याराथनमा यसपालि १० वटा इभेन्ट छन्। फूल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर मेन्स ओपन, ५ किलोमिटर ओमेन ओपेन्स, ५ किलोमिटर स्कुल बोय, ३ किमि स्कुल गल्र्स, किड्स रन ९८ देखि १२ वर्ष०, २ किमि कर्पोरेट, वाकाथन र ह्वीलचियर प्रतियोगिता छन् ।

यसपालिको म्याराथनमा सात हजारलाई दौडाउने तयारी भएको छ। देशी, विदेशी धावकसँगै जिल्लाका गन्यमान्य सबै दौडमा सहभागी हुँदै छन्। नेपालगञ्ज म्याराथनले सहरलाई चिनाएको छ। फुल म्याराथनमा नेपालगञ्ज र कोहलपुर जोडिने भएकाले दुई सहरलाई जोड्ने काम गरेको छ।

अध्यक्ष ठकुरीका अनुसार नेपालगञ्ज म्याराथनलाई भव्य र सब्य बनाउन धारा तेल, आशीर्वाद पेन्टस्, शिखर प्लाई, राष्ट्रिय वाणिज्य बैंक, फोन पे प्रत्यक्ष जोडिएका छन्।

नेपालगञ्ज म्याराथनलाई व्यवस्थित गर्न वेबसाइट लन्च भइसकेको छ। जहाँसुकैका खेलाडीले म्याराथनमा भाग लिन आफ्नो नाम लेखाउन सक्छन्। देशका सात वटै प्रदेशका खेलाडीलाई सहभागी गराउने तयारी भइरहेको छ।

म्याराथनमा बर्सेनि नयाँ–नयाँ प्रविधि जोड्ने र सहभागिता बढाउने अभियान जारी छ। नेपालगञ्जको बीपीचोकबाट सुरु भएर कोहलपुरको कौशिलानगर पुगेर पुनः बीपीचोकसम्म आइपुग्ने म्याराथनले देश विदेशमा नेपालगञ्ज सहरको पहिचान बढाएको ठकुरीको भनाइ छ।

सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत सहरको चिनारी कायमै राख्न सात वर्षअघि नेपालगञ्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो। विश्वमानचित्रमा लामो दौड अर्थात् म्याराथनको अलग महत्व हुने गर्छ। यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ। साथै, ठाउँ विशेषको पहिचान स्थापित गर्छ, विभिन्न पेसा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ।

यसले सामाजिक एकताको सन्देश दिन्छ। एक हिसाबले म्याराथन एउटा उत्सव हो। उत्सव साझा हुनुपर्छ। नेपालगञ्ज म्याराथन त्यही उद्देश्यबाट प्रेरित छ। त्यसका लागि सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ। यो सहकार्यमा एउटा इँटा थप्न महानायक हमाल आउने भएका छन्।

नेपालगञ्ज म्याराथनको उचाइ प्रतिदिन बढ्दै गएको छ। नेपालगञ्ज म्याराथन गत संस्करण टोकियो ओलम्पिकको छनोट प्रतियोगिता बनेको थियो। यो संस्करणका विजेता गोपीचन्द्र पार्कीले प्राविधिक कारणले टोकियो जान नपाए पनि बर्लिन म्याराथनमा सहभागिता जनाएर फर्किएका छन्।

यसबाट पनि नेपालगञ्ज म्याराथन स्थापित र चर्चित म्याराथन रहेको पुष्टि गरेको छ।अध्यक्ष ठकुरीले समयमै आफ्नो नाम रजिष्टर गरेर यो महोत्सवमा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।