March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

भीम अस्पतालमा अक्सिजन प्लान्ट

भैरहवा– भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा आएको छ । टर्कीमा बनेको अक्सिजन प्लान्ट यहाँ ल्याएर स्थापना गरिएको हो । अस्पतालकाअनुसार प्लान्टबाट दैनिक १२ लाख लिटर अक्सिजन उत्पादन हुन्छ । यसबाट दैनिक २ सय सिलिण्डर अक्सिजन भर्न सकिने छ । २ करोड ६० लाख लगानीमा प्लान्ट स्थापना गरिएको हो । पीडी इञ्जिनियरिङ प्रालिले निर्माणको काम गरेको थियो ।

Advertisement

‘प्लान्टबाट अक्सिजन क्यूरिफाइ गरी सिलिन्डर भर्न सकिने र पाइपलाइनबाट अस्पतालमा प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ’, निर्माण कम्पनीका इन्जिनियर आभास पाठकले भने । यहाँ स्थापित अक्सिजन प्रदेशकै सबैभन्दा ठूलो भएको बताइएको छ । बिहीबार प्लान्टको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले यसको निम्ति सबै सचेत हुनुपर्ने बताए ।

Advertisement

‘अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार पूर्व तयारीमा रहनुपर्छ’, उनले भने, ‘यसका लागि हामीले तयारी गरिरहेका छौं, अझै गर्नुपर्छ ।’ सम्भावित तेस्रो लहरसँग जुध्न अक्सिजन प्लान्ट महत्वपूर्ण बन्ने उनले बताए । ‘यहाँ स्थापना गरिएको प्लान्ट सफलतापूर्वक सञ्चालन गर्नुपर्छ, यहाँ प्रयोग नहुने अक्सिजन अन्यत्र पठाउनसक्नुपर्छ’, उनले भने ।

उनले भीम अस्पताललाई आवश्यक जनशक्ति उपलब्ध गराउन सहयोग गर्ने बताए । प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वलीले अक्सिजन प्लान्ट स्थापना हुनु यस क्षेत्रका नागरिकको लागि खुशीको कुरा भएको जनाइन् । ‘कोभिड–१९ को दोस्रो महामारीमा अक्सिजन अभावकै कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको थियो’, उनले भनिन्, ‘अब स्थापना भएका प्लान्टले धेरै सहज हुनेछ ।’ उनले महामारीबाट बच्न सावधानी अपनाउनुपर्ने बताइन् ।

भीम अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले जनशक्ति, स्रोतसाधन र भौतिक संरचनाको अभावबीच धेरै काम गरिरहेको बताए । उनले यहाँका संघसंस्था, संघ र प्रदेश सरकारको आर्थिक तथा अन्य सहयोगमा प्लान्ट संचालनमा ल्याउन सफल भएको बताए । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.शकुन्तला गुप्ताले अस्पतालमा अभावकाबीच केही बहिरंग सेवा थप गरिएको जनाइन् । उनले अस्पतालले गुणस्तरीय सेवा प्रदान गरिरहेको बताउँदै कोभिड–१९ महामारीमा क्षमता भन्दा बढी बिरामीको उपचार गरेको जनाइन् ।

१९९० सालमा स्थापना भएको यो जिल्ला अस्पताल २५ शय्या स्वीकृत प्राप्त भए पनि १२० बेड यहाँ संचालित छन् । कोरोना महामारी उच्च तहमा पुगेकाबेला प्रदेशका अधिकांश संक्रमितको यहाँ उपचार गरिएको थियो । अक्सिजनको चरम अभावका बेलासमेत अस्पतालले विरामीको भूइँमा राखेर उपचार गरेको थियो । त्यसबेला अक्सिजन चरम अभाव भए पछि सरकारले यहाँ अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट उपलब्ध गराएको थियो । तेस्रो लहर आएमा अक्सिजन अभाव नहुने यहाँका नागरिकको विश्वास छ ।