April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

रोहिणीमा मुलुकमै पहिलोपल्ट स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन

भैरहवा– रोहिणी गाउँपालिकामा स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन भएको छ । नागरिकको स्वास्थ्य बीमामा सहजीकरण गर्ने उद्देश्यसहित समिति गठन गरिएको हो । स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति सञ्चालन कार्यविधि २०७८ लागु भए पछि देशमै पहिलो समिति गठन गरिएको गाउँपालिकाको जनाएको छ ।

Advertisement

कार्यक्रम कार्यान्वयन गर्न सहजीकरण गर्ने लगायतको कार्य गर्नका लागी समिति गठन गरिएको हो । कार्यविधिमा ब्यवस्था भए अनुसार रोहिण गाउँपालिका अध्यक्ष सनोजकुमार यादवको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए ।

Advertisement

समितिको सदस्यहरुमा वडा अध्यक्षहरुको तर्फबाट बिरबहादुर थापा, महिला स्वास्थ्य स्वयम्सेविकाहरुको तर्फबाट पद्मा थापा, सेवा प्रदायक संस्थाका तर्फबाट चन्द्रिका यादव, गाउँपालिकाका स्वास्थ्य संयोजक रामनेवास चौधरी र रामप्रसाद ढकाल छन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत न्यौपाने सदस्य सचिवको जिम्मेवारीमा छन् ।

गाउँपालिकामा रहेका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित समिति गठन गरिएको अध्यक्ष यादवले जानकारी दिए । यसले गाउँपालिकाका जनताको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्ने दिर्घकालीन लक्ष्य राखिएको उनले बताए ।

यादवले गाउँपालिकामा बिभिन्न चेतनामूलक कार्यक्रम मार्फत समुदायका समूहहरुलाई सक्रिय सहभागी गराउने जनाए । ‘गरिब तथा न्यून आय भएका वर्गलाई बिशेष संरक्षण गर्दै सार्वजनिक तथा निजी स्वास्थ्य स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको सहकार्यमा स्वास्थ्य बीमाको नितिलाई बिस्तार गर्ने योजना रहेको छ’, यादवले भने ।

गाउँपालिकामा रहेका ५ जनासम्म सदस्य रहेको परिवारमा ३ हजार ५ सयको दरले परिवारकै बर्षभरिको स्वास्थ्य बीमा गराउन सकिने प्रशासकिय अधिकृत न्यौपानेले जनाए । ५ जना भन्दा बढी सदस्य रहेको परिवारमा प्रतिसदस्य बराबर थप ७ सय रुपैयाँ तिर्नु पर्नेछ । स्वास्थ्य बीमाले ५ जनासम्म सदस्य रहेको परिवारलाई १ लाख बराबरको औषधीय सेवा पाउने र ५ जना माथिका सदस्यको हकमा प्रतिसदस्य थप २० हजार बराबरको अधिकतम २ लाखसम्मको सेवा प्राप्त हुने उनले बताए ।

उनले गाउँपालिकामा रहेका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक, एवम क वर्गको परिचय पत्र प्राप्त अपाङ्गहरुलाई निःशुल्क बीमा गरिने बताए । यस्तै महिला स्वास्थ्य स्वयम्सेविकाहरुको हकमा ५० प्रतिशत सरकारले र बाँकी ५० प्रतिशत गाउँपालिकाले तिर्ने गरि निःशुल्क बीमा गरिने न्यौपानेले जानकारी दिए ।

स्वास्थ्य सेवा उपयोगमा आउन सक्ने आर्थिक अवरोध हटाएर स्वास्थ्य सेवामा मूलतः गरिब तथा सीमान्तकृत जनता र लक्षित वर्गको पहुँच र समता अभिवृद्धि गर्न गाउँपालिकाले पहल थालेको उनले बताए । स्वास्थ्य बीमाले स्वास्थ्य सेवा उपयोगका क्रममा अनियोजित रुपमा भई रहेको ब्यक्तिगत खर्चलाई ब्यवस्थित गर्ने र अप्रत्यासित स्वास्थ्य हानीको कारणले हुने आर्थिक जोखिमबाट समेत बचाउन सहयोग गर्ने न्यौपानेको भनाई छ ।

न्यौपानेले अहिले स्वास्थ्य बीमा दर्ता सुरु भै सकेको जनाए । उनले बैशाख, जेठ र असार महिनामा गराएको स्वास्थ्य बीमाको सेवा भदौ १ गते बाट सुरु हुने र अर्को बर्षको साउन मसान्त सम्म यसको म्याद रहने जनाए । यस्तै साउन, भदौ र असोज महिनामा गरिएको बीमाको अवधि मंसिर १ गते बाट सुरु भई अर्को बर्षको कार्तिक मसान्त सम्म रहने छ । कार्तिक, मंसिर र पुसमा गरिएको बीमा फागुनको १ गतेबाट सुरु भई अर्को बर्षको माघ मसान्त रहनेछ । माघ, फागुन र चैतमा गरिएको बीमा अर्को बर्षको जेठ १ गते मात्र सुरु हुने र सोही बर्षको बैशाख मसान्त सम्म मात्र रहने छ ।

स्वास्थ्य बीमाले अप्रत्यासित स्वास्थ्य हानीको कारणले हुने आर्थिक जोखिमबाट बचाउने भएकोले गाउँपालिकाले सबै नागरिकलाई यो अभियानमा सहभागी हुन अपिल समेत गरेको छ ।