March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

एमाले रुपन्देहीको तीन पालिकामा नेतृत्व चयन

भैरहवा– नेकपा एमालेको रुपन्देहीको तीनवटा स्थानीय तहमा नेतृत्व चयन भएको छ । मंगलबार भएको निर्वाचनबाट एमाले बुटवल उपमहानगरपालिकाको अध्यक्षमा किशन ज्ञवाली सर्वसम्मत चयन भएका छन् । यस्तै, उपाध्यक्षमा शोभाखर पोखरेल चयन भएको एमालेले जनाएको छ ।

Advertisement

यस्तै, शुद्धोधन गाउँपालिकाको अध्यक्षमा विष्णु गौतम सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा किरण नेपाल र सचिवमा शुद्धोधन गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष समेत रहेका राजेन्द्र कंडेल चयन भएका छन् ।

Advertisement

लुम्बिनी सांस्कृतिक नगरपालिकाको अध्यक्षमा निसार अहमद सर्वसम्मत चयन भएका छन् । यस्तै, उपाध्यक्षमा जगदिश यादव, सचिवमा कल्पना हरिजन, उपसचिवमा हरिकेश लोध र नगेन्द्र लोधसहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको एमालेले जनाएको छ ।

सिद्धार्थनगरमा हिजो अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन भएन । आज बन्दसत्रपछि नेतृत्व चयन हुने एमालेले जनाएको छ । यहाँ वडानम्बर तीनका वडाध्यक्षसमेत रहेका थानेश्वर पौडेल, चक्र थापा र धु्रव अधिकारी अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।