December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

इरानविरुद्ध सुखद नतिजाको अपेक्षा

 एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगितामा नेपाली युवा टोलीले आज (सोमबार) बलियो टोली इरानविरुद्ध खेल्दैछ । कम तयारी गरेको नेपाली टोलीले बलियो टोलीलाई चुनौती पेस गर्ने योजना बनाएको छ ।
 
छनोट प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले इरानविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्दैछ । दोस्रो खेल आयोजक ताजकिस्तान र अन्तिम खेल लेबनानविरुद्ध खेल्नेछ । फिफा वरीयता हेर्ने हो भने समूहमा नेपाल सबैभन्दा कमजोर टोली हो ।

Advertisement

इरान २२औँ स्थानमा छ । त्यो एसियाको सबैभन्दा माथि हो । लेबनान ९७औँ स्थानमा छ । त्यो भनेको एसियाको १६औँ स्थान हो । आयोजक ताजकिस्तान पनि ११८औँ स्थानमा छ । नेपाल १६८औँ स्थानमा छ ।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ । नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले छोटो समयको तयारी भए पनि आफूहरू चुनौती पेस गर्न तयार रहेको बताएका छन् ।

“प्रशिक्षकका रूपमा भन्नुपर्दा हामीले यस प्रतियोगिताका लागि एकदम छोटो समयको तयारीमा यहाँ (ताजकिस्तान) आएका छौँ,” नेपाली यू–२३ टोलीका मुख्य प्रशिक्षक महर्जनले भने, “टोली केही खेलाडी साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा भएका कारण हामी सँगै बसेर प्रशिक्षण पनि गर्न पाएका थिएनौँ । तर, यहाँ आएर हामीले प्रशिक्षण गर्यौँ । मैत्रीपूर्ण खेल खेल्यौँ । त्यसले खेलाडीमा सकारात्मक प्रभाव पारेको छ । हामी अब राम्रो नतिजा निकाल्न तयार छौँ । त्यसका लागि हामी आफ्नो तर्फबाट सक्दो मिहिनेत गर्नेछौँ ।”

एन्फाले महर्जनलाई गएको भदौ २१ गते मात्र यू–२३ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनले भदौ २६ गते ४८ खेलाडीलाई बेलाएर बन्द प्रशिक्षण थालेका थिए । झन्डै एक महिनाको प्रशिक्षणपछि महर्जनले असोज १६ गते २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।

नेपाली टोलीमा ६ जना राष्ट्रिय टोलीका खेलाडी छन् । सुमन अर्याल, गौतम श्रेष्ठ, सुरजज्यु ठकुरी, आयुश घलान, मनीष डाँगी र नितिन थापा माल्दिभ्सबाट नेपाल फर्किएलगत्तै ताजकिस्तान गएका थिए ।

नेपालले शुक्रबार इन्डोनेसियाको यू–२३ टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो । उक्त खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

नेपाली टोलीका कप्तान अर्पण कार्कीले प्रतियोगितामा कठिन प्रतिद्वन्द्वी भए पनि आफूहरू कडा चुनौती दिन तयार रहेको बताए । “हामीले राम्रो गरिरहेका छौँ । प्रशिक्षण पनि राम्रो भइरहेको छ,” कप्तान अर्पणले भने, “इन्डोनेसियाविरुद्धको खेलले हामीलाई आफ्नो कमजोरी सुधार्ने मौका मिलेको छ । जुन हामीलाई आवश्यक थियो । हाम्रो तर्फबाट सक्दो राम्रो गर्नेछौँ । कडा प्रतिस्पर्धाका लागि हामी तयार छौँ ।”

नेपाली टोली
गोलरक्षक : विशाल सुनार, अर्पण कार्की र अभिषेक बराल
रक्षक : सुमन अर्याल, गौतम श्रेष्ठ, रन्दीप पौडेल, राजन गुरुङ, शिव गुरुङ र अभिषेक लिम्बू
मिडफिल्डर : आयुश घलान, नितिन थापा, सुरजज्यु ठकुरी, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अनिल महर्जन, शिशिर लेखी, राजीव लोप्चन, आकाश बुढामगर र रोशन पहारी
फरवार्ड : अभिषेक रिजाल, मनीष डाँगी, दर्शन गुरुङ र ऋतिककुमार खड्का ।

नेपालको खेल तालिका
कात्तिक ८ गते : इरानविरुद्ध नेपाल
कात्तिक ११ गते : नेपालविरुद्ध ताजकिस्तान 
कात्तिक १४ गते : लेबनानविरुद्ध नेपाल