December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति [फोटो फिचर]

भैरहवा– स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्नका लागि तयार गरी पठाएको बुद्धमूर्ति भैरहवा ल्याइएको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा ल्याइएको हो ।

Advertisement

बिहीबार भैरहवा भन्सार परिसरमा मूर्ति ल्याइएको हो । शुक्रबार भन्सार प्रक्रिया सबै पूरा गरिएको छ । यो मूर्तिको भन्सार महशुल १ लाख ५७ हजार ५ सय ८३ रुपैयाँ लागेको छ । बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको थियो । फाउण्डेसनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने छ ।

फाउण्डेसनले बुद्ध र लुम्बिनीबारे विश्वमा शान्ति र पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले बुद्धमूर्ति प्रदान गरेको लुम्बिनी गार्डेन फाउण्डेसन, नेपालका सचिव तुलसीराम लामिछानेले बताए । ६ महिना लगाएर भिक्षुहरुले मूर्ति कुदेका थिए । मूर्ति तयार गर्न करिब दुई अर्ब ५० करोड लागत लागेको फाउण्डेसनले जनाएको छ ।

मूर्ति शनिबार भन्सार परिसरबाट निकालेर भैरहवा बजार परिक्रमा गराइने छ । यस्तै, भैरहवाबाट लुम्बिनी परिपथ घुमाई गौतमबुद्ध एयरपोर्टमा ल्याइने छ । शुक्रबार राजकीय थाई बिहार लुम्बिनीका भिक्षुहरुले मूर्ति फूल मालाले सिंगारेका छन् ।

बहुमूल्य धातुबाट बनेको मूर्तिले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वाससाथ सिद्धार्थ उद्योग वाणिज्य संघ र लुम्बिनी होटल संघलगायतका संघसंस्थाले बुद्धमूर्ति स्वागतका लागि भव्य तयारी गरेका छन् । बुद्ध धुनको गुन्ज्यायमान र झाँकीसहित मूर्ति भैरहवादेखि लुम्बिनीसम्म परिक्रमा गराइने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

एक हजार ८०० किलो तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । मूर्ति निर्माताले विश्वका १६ देशमा यस प्रकारका मूर्ति पठाइसकेको बताइएको छ । बुद्धमूर्ति यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्ध विमानस्थलमा अनावरण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसअघि कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विशेष प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम तय भइसकेको फाउण्डेसनले जनाएको छ ।