December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

माोतीपुर घटनाका पीडित परिवारलाइ क्षतिपूर्ति देउ : टाइगर्स

भैरहवा– तराई मधेश जनता पार्टी (टाइगर्स) ले केही दिन अघि रुपन्देहीको मोतीपुरस्थित प्रस्तावित औद्योगिक क्षेत्रमा भएको घटनामा मृत्यु हुने परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था अविलम्ब सरकारले गर्नु पर्ने माग गरेको छ ।

Advertisement

पार्टीले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त माग गरेको हो । ‘मृतक परिवारलाई उचित क्षतिपूर्ति, सहिद घोषणा र घाइतेको अलिम्ब निःशुल्क उपचारको व्यवस्था गरिनुपर्छ’, पार्टीका केन्द्रिय सचिव मेजर पाण्डेले भने, ‘मागपुरा भएन भने हाम्रो पार्टी कडा भन्दा कडा आन्दोलनमा उत्रिने छ ।’ तर, आन्दोलनको स्वरुप कस्तो हुने ? भन्ने वारेमा भने उनले प्रस्ट्याएनन् ।

मृतकको परिवारसहित वास्तविक सुकुम्बासी परिवारलाई बस्नका लागि जग्गा उपलब्ध गराइनु पर्ने, मृतकको वालबच्चाको पालनपोषण र रोजगारको व्यवस्था गरिनु पर्ने माग आफ्नो पार्टीको रहेको उनले बताए । उक्त घटनामा सुरक्षाकर्मीले जग्गा अतिक्रमण गर्न आएका व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनी कारवाही गर्नुपर्नेमा गोली हानेर ज्यादती गरेको आरोप उनले लगाए ।

पत्रकार सम्मेलनमा उक्त घटनामा मृत्यु र घाइते भएका परिवारका आफन्त समेत सहभागी थिए । गत असोज २४ गते रुपन्देहीको मोतीपुरस्थित प्रस्तावित औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न आएका समूह र सुरक्षाकर्मीबीच भएको झडपमा गोलीचल्दा चारको मृत्यु र सुरक्षाकर्मीसहित दर्जनौं घाइते भएका थिए ।