December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

काँग्रेस रुपन्देहीद्वारा चियापान र शुभकामना आदान–प्रदान

भैरहवा– नेपाली कांग्रेस रुपन्देहीले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । बुधबार भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, नेपाल सम्वत्, छठलगायत चाडपर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

Advertisement

चियापान समारोहमा बोल्दै कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाक गद्दीले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता र मेलमिलाप आवश्यकता रहेको बताए । उनले काँग्रेस सधै सहमति, सहकार्यबाट अघि बढ्ने बताउँदै पार्टीभित्र पनि एकजुट भएर काम गर्नु पर्ने बताए ।

पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्रीसमेत रहेका नेता गद्दीले पार्टीका संस्थापक विपी कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि सुरु गरिएको चियापान कार्यक्रमलाई कांग्रेसले यस वर्ष पनि निरन्तरता दिएको र आगामी दिनमा पनि दिइने जनाए ।

शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा कांग्रेस रुपन्देहीका उप–सभापति फणिन्द्र शर्मा, सचिव रामकृष्ण खाँण लगायतले बोल्दै चाडबाडले नेपालीहरुमा एकता र भाइचाराको विकास गर्ने विश्वास व्यक्त गरे ।