March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

जिप खोलाले बगाउँदा हामफालेर जोगिए पाँच यात्रु

भैरहवा– गएराति दाङस्थित खौरा खोलाले जिप बगाउँदा पाँच जनाले हाम फालेर ज्यान जोगाएका छन् । पाँच यात्रु सवार जिप राती करिब ११ बजे गढवा गाउँपालिका– २ महदेवास्थित खौरा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

Advertisement

दाङका एसपी सुरेश काफ्लेले बा १७ च ५३४४ नम्बरको जीप गढवाबाट पोखरातर्फ जाँदै गर्दा खोलामा आएको बाढीले बगाएको जानकारी दिए । प्रहरी घटनास्थलमा पुग्नुअघि गाडीबाट पाँचजना यात्रु सकुशल निस्किसकेका थिए ।

Advertisement

मानवीय क्षति नभएपनि गाडीमा भने क्षति पुगेको छ । एसपी काफ्ले खोलामा बगेको गाडी निकाल्ने प्रयास भैरहेको जनाए ।

यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत नर्ती र लमहीको बीचमा पर्ने मजगाउँमा पर्यटक बोक्ने बा १ प १३३८ नम्बरको बस दुर्घटनामा परेको छ ।

बस चिप्लिएर सडक किनारामा पल्टिएको छ । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । चालक र सहचालकमात्रै रहेको बस यात्रु लिन जाँदै गर्दा दुर्घटनामा परेको हो ।