July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

तिहारसम्म कांग्रेस वडा अधिवेशन सकिनेमै शंका

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले गएको भदौ २५ गते १४औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्दै विज्ञप्ति जारी गर्‍यो । समिति संयोजक महादेवप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने गरी तालिका हेरफेर गरिएको जानकारी गराइएको थियो ।

Advertisement

२० जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहँदा निर्वाचन समितिले तालिका संशोधन गरेको थियो । कार्यतालिका संशोधन भएको दुई महिना बित्न लाग्दा समेत १३ जिल्लामा वडा अधिवेशन हुनसकेको छैन । प्रदेश नम्बर–२ मा त सबै आठै जिल्लामा अधिवेशन भएको छैन ।

Advertisement

असोज ७ गते संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी पदाधिकारीहरूको बैठकले दसैँअघि २१ हिमाली जिल्लामा जिल्ला तहको अधिवेशन र बाँकी रहेका १३ जिल्लामा पालिका तहसम्म अधिवेशन सम्पन्न गर्ने निर्णय गर्‍यो । तर, १२ हिमाली जिल्लामा मात्र जिल्ला तहको अधिवेशन सम्पन्न भयो ।

भदौ २५ गतेको संशोधित कार्यतालिका बमोजिम असोज १८ सम्ममा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन सम्पन्न हुनुपर्ने थियो । दसैँअघि नै ७७ जिल्लामा जिल्ला तहको अधिवेशन सम्पन्न भइसकेर यति बेला पार्टी प्रदेश अधिवेशनको चटारोमा हुनुपर्ने हो । तर, चार जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद नै टुंगोमा पुग्न सकेको छैन ।

नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको क्रियाशील विवाद समाधान कार्यदलको बैठक नबसेको निकै समय बितिसकेको छ । सत्ताको नेतृत्वकर्ता दल भएका कारणले कांग्रेस योबीचमा मन्त्रिपरिषद् विस्तारको चटारोमा पर्‍यो । कार्यदल सदस्य डा. मीनेन्द्र रिजाल रक्षा मन्त्रालयको जिम्मेवारी लिएर सिंहदरवार प्रवेश गरे । कार्यदलले गरेको सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठक पनि बस्न सकेको छैन । कार्यदल सदस्यहरू जीवन परियार र प्रदीप पौडेल कोरोना संक्रमित भए । त्यसकारण पनि बाँकी रहेका चार जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न असहज भएको हो ।

रसुवा, सप्तरी, रौतहट र बारा जिल्लामा क्रियाशील विवाद समाधान गर्न भोलि (बुधबार) क्रियाशील विवाद समाधान समितिको बैठक बस्ने तयारी छ । दसैँ सकेर नेता कृष्ण सिटौला झापाबाट काठमाडौं आएपछि बैठक बसेर चार जिल्लाको विवाद समाधान गर्ने तयारी छ । नेता रामचन्द्र पौडेलले पनि कार्यदलमा रहेका सदस्यहरूलाई चाँडै बैठक बसेर क्रियाशील विवाद टुंगोमा पुर्‍याउन सुझाव दिएका छन् ।कार्यदल सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य जीवन परियार दुई/चार दिनभित्रै विवादलाई समाधान गर्ने विषयमा संवाद भइरहेको बताउँछन् ।

“कृष्ण दाइ (सिटौला) काठमाडौं आएपछि बैठक बस्छौँ र चार जिल्लाको विवाद केही दिनभित्रै टुंगोमा पुर्‍याउँछौँ,” उनले भने ।

तिहारअघि १३ जिल्लाको अधिवेशन गर्ने तयारी

प्रदेश–२ का आठ जिल्लासहित वडा तहकै अधिवेशन गर्न बाँकी रहेका १३ जिल्लामा तिहारअघि अधिवेशन गर्ने तयारी भइरहेको छ ।पार्टीको केन्द्रीय निर्वाचन समितिले पनि चार जिल्लाको क्रियाशील सूची पाए वडा तहसम्मको अधिवेशन गर्ने विषयमा छलफल अघि बढाउने तयारी गरेको छ ।

समितिले थप विषयमा छलफल गर्नका लागि बिहीबार बैठक बस्ने तयारी गरेको छ । समिति संयोजक महादेवप्रसाद यादव अधिवेशनको विषयमा छलफल गर्न बिहीबार बैठक बस्ने बताउँछन् ।

“अहिले यसै भन्ने स्थिति छैन, । दसैँ–तिहारको बीचमा अधिवेशन कहाँ गर्ने वा नगर्ने भन्ने विषयमा समितिको बैठक बसेर मात्र भन्न सकिएला,” उनले भने ।

क्रियाशील विवाद समाधान सहमति कार्यान्वयन कार्यदल भने दसैँ–तिहारको बीचमा १३ जिल्लामा पालिका तहसम्मको अधिवेशन सकाउने गरी काम गरिरहेको दाबी गर्छ । कार्यदल सदस्य परियारले अधिवेशन गराउने गरी काम भइरहेको बताए ।

यी जिल्लाहरूमा फर्जी क्रियाशीलको विवाद बढी छ । यस्तै, तहगत संरचनाबाट क्रियाशील वितरण नभएको, वडाले गरेको निर्णयविपरीत नेतृत्वले मनपरी क्रियाशील बाँडेकोलगायत गुनासोहरू छन् । “क्रियाशील टुंगो लगाउन सके १३ जिल्लामा पालिका तहसम्मको अधिवेशन दसैँ–तिहारको बीचमा हुन्छ,” परियारले भने ।

निर्वाचन समितिले पनि १२ जिल्लामा एकसाथ जिल्ला निर्वाचन अधिकृत तोक्ने निर्णय गर्दै क्रियाशील सदस्यहरूको अन्तिम सूची पर्खेर बसेको छ । समिति सदस्य गोपालकृष्ण घिमिरे अधिवेशन कहिले गर्ने प्रश्न निर्वाचन समितिलाई भन्दा पनि पार्टीलाई सोध्नुपर्ने तर्क गर्छन् । “हामी त उहाँहरूले प्रदान गर्ने क्रियाशील सदस्यहरूको अन्तिम सूची पर्खेर बसेका छौँ, नेतृत्वले हामीलाई सूची दिएकै छैन,” घिमिरे भन्छन्, “खै हामीले अधिवेशन हुन्छ/हुँदैन भनेर कसरी भन्ने ।”

अधिवेशनको विषयमा केही दिनभित्र बैठक बसेर छलफल गरिँदै छ । पूर्व र वर्तमान पदाधिकारीहरू तथा प्रभावशाली नेताहरू बसेर अधिवेशनको मिति सम्बन्धमा निर्णय गर्ने तयारी गरेका छन् । सहमहामन्त्री डा. प्रकाशशरण महत बाँकी रहेका जिल्ला र वडा तहकै अधिवेशन हुन नसकेका जिल्लाहरूको बारेमा निर्णय गर्न केही दिनभित्र बैठक बस्ने बताउँछन् ।

“अधिवेशनका यो गर्ने/नगर्ने, कहिले गर्ने भन्ने विषमया बैठक बसेर निर्णय गर्नुपर्ने हुन्छ, हामी चाँडै बैठक बसेर निचोडमा पुग्छौँ,” उनले भने ।