December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

अनाहकमा कुनै नागरिकको ज्यान जान हुँदैन : गृहमन्त्री खाँण

भैरहवा- गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना र रक्षा गर्दै काँग्रेस अघि बढ्ने बताएका छन् । सोमबार भैरहवामा काँग्रेस रुपन्देहीद्वारा आयोजित कार्यक्रममा बोल्दै खाँणले भने, ‘संविधानको पालना गर्ने काँग्रेसको मात्रै दायित्व होइन, सरकारको पनि हो । सरकारको पहिलो दायित्व संविधानको रक्षा, विधिको पालना गर्ने र जनताको जिउधनको रक्षा गर्ने हो ।’

Advertisement

काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका मन्त्री खाँणले एउटा पनि नेपाली नागरिकको जीवन अनाहकमा जान नहुने बताए । ‘त्यसको प्रबन्ध गर्ने काम सरकार र गृह प्रशासनको हो’, उनले भने, ‘यसका लागि प्रहरी–प्रशासनले विशेष ध्यान दिनुपर्छ । ध्यान दिनका लागि म निर्देशन गर्छु ।’

उनले काँग्रेसलाई सुदृढ र समृद्ध बनाउनु पर्ने बताए । ‘यसका लागि पार्टीमा एकताको आवश्यकता छ । एकता नै काँग्रेसको शक्ति हो । तपाईंहरुले एकतामा जोड दिनुस्’, उनले भने । खाँणले अहिले अधिवेशन चलिरहेको र पार्टीको विधि, विधानअनुसार नेताकार्यकर्ता अघि बढ्नुपर्ने बताए । ‘अधिवेशनमा कयौं ठाउँमा सहमति भएको छ । सहमतिका लागि प्रयास र पर्यत्न भए । स्वस्थ प्रतिस्पर्धा गरेर धेरैले जित्नु भएको छ’, उनले भने ।

विषम परिस्थितिमा पनि देश भरी नै काँग्रेसमा आकर्षण बढेको उनले बताए । ‘क्रियाशील सदस्यता बढेर झण्डै १० लाखको हाराहारीमा पुगेको छ । नेपालको राष्ट्रिय राजनीतिमा सबैभन्दा बढी सदस्य भएको पार्टी काँग्रेस हो । र, सबैभन्दा ठूलो पार्टी पनि हो’, उनले भने । उनले आम नागरिकको अधिकार र संविधानको रक्षाका लागि पनि काँग्रेसलाई सुदृढ बनाउनु पर्ने बताए । ‘यो अभियानमा सबै लाग्नुपर्छ’, उनले भने ।

पाँच वर्षका लागि काँग्रेसलाई जनताले प्रतिपक्षमा बस भने पनि अघिल्लो सरकार आफ्नै आन्तरिक झगडाले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको उनले बताए । ‘नचाहँदा नचाहँदै पार्टीले सरकारको नेतृत्व गरेको छ । सबैको आग्रहमा पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु भएको हो’, उनले भने, ‘यो सरकारको जिम्मेवारी गठबन्धनलाई कायम राख्दै संविधानको पालना गरेर विकासमा लाग्नुपर्ने छ ।’

उनले रुपन्देहीको विकासका लागि आफूले पर्यत्न गर्ने बताए । रसुवादेखि लिएर नुवाकोट हुँदै चितवनसम्म सुरुङमार्ग निर्माण गर्न सबेमा नेपालको तराई भूभाग, त्यो पनि पश्चिमी भूभागको विकासले गति लिन्छ भन्ने सरकारको विश्वास रहेको उनले बताए ।

बेलहिया नाका अत्यन्तै अस्तव्यस्त भएको बताउँदै गृहमन्त्री खाँणले यसलाई व्यवस्थित गर्न नसकेको बताए । ‘सीमा नाका परियोजना अलपत्र परेको छ । भन्सारमा पार्किङ छैन । यसलाई व्यवस्थित गराउन तत्काल खाली जमिनमा पार्किङ बनाउने काम अगाडि बढाउने छौं’, उनले भने ।