March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

मोतीपुर औद्योगिक क्षेत्रमा कर्फ्यु कायमै

भैरहवा– रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा लगाइएको कर्फ्यु यथावत छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गएको आइतबार अपराह्न ४ बजेदेखि निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।

Advertisement

औद्योगिक क्षेत्र बुटवल उपमहानगरपालिकाको वडा नम्बर–१७ र १८ मा पर्छ । आइतबार औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाएर बसेका सुकुम्बासीलाई हटाउने क्रममा प्रहरी र सुकुम्बासीबीच दोहोरो झडप भएको थियो । उक्त झडपमा परी चारजनाको मृत्यु भएको थियो । प्रहरी र सुकुम्बासी गरी करिब ७३ जना घाइते भएका थिए ।

Advertisement

फाइल तस्बीर ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले अहिले औद्योगिक क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई हटाइसकिएको जनाए । ‘औद्योगिक क्षेत्रमा बसोबास गर्ने केही नागरिक स्थानीय नै हुन् । उनीहरू औद्योगिक क्षेत्रमै बस्छन् । अन्य विभिन्न जिल्लाबाट आएका सुकुम्बासीहरूले यहाँको जग्गा अतिक्रमण गरेर बसेका थिए । उनीहरूलाई हटाइएको हो । यहाँ जग्गा पाइन्छ भनेर लामो समयदेखि सुकुम्बासीले औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेका थिए ।’

थापाका अनुसार अहिले मोतीपुरको अवस्था सामान्य छ । ‘अहिलेसम्म झडपमा मृत्यु भएका तीनजनाको सनाखत भएको छ । नवलपुर, कपिलवस्तु, रुपन्देहीका गरी तीनजनाको सनाखत भएको छ । अब एकजनाको सनाखत हुन बाँकी छ ।

सनाखत भएकामध्ये रुपन्देहीको शुद्धोधन–५ का विरेन्द्रप्रसाद कुर्मी र नवलपरासी बर्दघाट स्थायी घर भइ हाल तिलोत्तमा शंकरनगर बस्ने यूजन कुमाल रहेको प्रहरीले जनाएको छ। अर्का एकजना कपिलवस्तु बाणगंगा–१० का ४८ वर्षीया रमेश परियार हुन्। उनको आइतबार नै सनाखत भएको थियो।

सुरक्षाकर्मीहरू औद्योगिक क्षेत्रको सुरक्षार्थ खटिरहेका छन्’, उनले भने । औद्योगिक क्षेत्रमा करिब ८ सय १३ बिघा जमिन पर्छ ।