June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

मंसिर ४ देखि सातौँ नेपालगञ्ज म्याराथन

 बाँके– सातौं धारा नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुने भएको छ।

नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारीबारे आयोजक क्रियटिभ ह्यान्ड्सले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

Advertisement

म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले सोही पत्रकार सम्मेलनमा नेपालगञ्ज म्याराथन डट कम वेबसाइट पनि सार्वजनिक गरेको छ।

नेपालगञ्ज उपमहानगर प्रमुख उमा थापा मगर, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाईका निर्देशक प्रदीप दुगड, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र राना र नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले संयुक्त रूपमा वेबसाइटको शुभारम्भ गरे।

शनिबारदेखि खेलाडी दर्ता खुला गरिएको आयोजकले जनाएको छ। यस वर्षदेखि वेबसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजक अध्यक्ष टीएस ठकुरीले जानकारी गराए। विभिन्न दश वटा विधामा स्पर्धा गर्न सकिने ठकुरीले बताए।

पुरुषतर्फ म्याराथन (४२.१९५ किमि), महिलातर्फ हाफ म्याराथन, १० किमि पुरुष खुला, ५ किमि महिला खुला, ५ किमि स्कुलस्तरीय छात्र, ३ किमि स्कुलस्तरीय छात्रा, किड्स रन (८देखि १२ वर्ष उमेर समूह), २ किमि कर्पोरेट रन, एक किमि ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ। नगद पुरस्कार राशिमा वृद्धि गरिने आयोजक अध्यक्ष ठकुरीले जानकारी गराए।

‘पुरस्कार राशिमा वृद्धि अवश्य हुनेछ, साथै हामी यस वर्ष अन्य केही सरप्राइज प्याकेज पनि घोषणा गर्दै छौं,’ अध्यक्ष ठकुरीले भने, ‘विद्युतीय प्रविधिको प्रयोग भरपुर सदुपयोग गरी म्याराथन स्तरोन्नति गरेर अगाडि बढ्दै छौं, वेबसाइटमाथि लगानी पहिलो प्रयास हो।’

म्याराथन विजेताका लागि वर्षभरि प्रशिक्षणको व्यवस्थापनमा आवश्यक लगानीका लागि प्रायोजकहरूसँग परामर्श गरिरहेको पनि ठकुरीले बताए।

नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले नेपाल धारा नेपालगञ्ज म्याराथनले बर्सेनि स्तरोन्नति गर्दै गएकोमा खुसी व्यक्त गरिन्।

टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगञ्ज म्याराथनको निरन्तरता र स्तरोन्नतिमा आफूहरू सदैव तत्पर रहेको बताए। धारा शुद्ध तोरीको तेल केएल दुगड ग्रुपको उत्पादन हो।

राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतमले धारा नेपालगञ्ज म्याराथनसँग पाँचौं संस्करणदेखि निरन्तर जोडिन पाएकामा बैंक परिवारले गौरव अनुभूति गरेको बताए। फोन पेका शाखा प्रबन्धक महेन्द्र रानाले हरेक सहभागीले फोन पे नेटवर्क प्रयोग गरी दर्ता शुल्क भुक्तानी गर्न सकिने भएकाले सबैलाई सहज हुने धारणा व्यक्त गरे।