December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

अहिलेको गठबन्धनलाई कसैले तोड्न सक्दैन : प्रचण्ड

नवलपरासी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन अब कुनै शक्तिले तोड्न नसक्ने बताएका छन् । उनले अब एकदुई दिनमै एमाले नेतृत्व रहेका प्रदेश सरकार पनि परिवर्तन हुने दावी गरे ।

Advertisement

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटनका गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले गठबन्धनलाई अझै बलियो बनाउँदै सरकार विस्तार गर्न खोज्दा केही ढिला भएको बताए । सरकारको स्थायित्वलाई लिएर केही आशंकाहरु उठेको भए पनि अब यो सरकारले पूर्णता पाएसँगै सम्पूर्ण आशंकाहरु मेटिएको जनाए । ‘अब सरकारले जनमुखी काम गरी अगाडि बढ्नेछ’, उनले भने ।

उनले गठबन्धनले अबको चुनावमा ओलीहरुलाई राजनैतिकको क्षितिजको धेरै टाडा पुर्याउने बताउँदै प्रचण्डले यो सरकारले सुकुम्बासी समस्या, मधेशमा ठूलो समस्याका रुपमा रहेको नागरिकताको समस्या समेत हल गरेर जाने बताए । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले ‘समृद्धी प्रदेश आत्म निर्भर लुम्बिनी’ प्रदेश सरकारको नारालाई साकार पार्नका लागि सम्पूर्ण प्रदेशवासीलाई आह्वान गरे ।

पालिनन्दनको प्रशासकीय भवन निर्माणमा ९ करोड ३५ लाख रुपैयाँ लागत लागेको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जनाऐ । गाउँपालिकाको पाँच तले प्रशासकीय भवनमा ८४ कोठा, ४ सभाहल एवं भवनको माथिल्लो तलामा हेलीप्याड समेत बनाइएको छ ।