July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

संघ सरकारमा बाँकेका दुई मन्त्री

बाँके – शेरबहादुर देउवाको मन्त्रीमण्डलमा बाँकेले दुई मन्त्री पाएको छ। नेपालगञ्जका गजेन्द्र हमाल र महेश्वर गहतराज मन्त्री भएका छन्। हमाल कांग्रेस र गहतराज माओवादी केन्द्रको सिफारिसमा मन्त्री भएका हुन्।

Advertisement

झण्डै तीन महिनापछि प्रधानमन्त्री देउवाले विस्तार गरेको मन्त्रीमण्डलमा बाँकेबाट हमाल र गहतराज परेका हुन्। हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति र गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Advertisement

हमाल गैरसांसद हुन्। उनी कांग्रेस बाँकेका पुराना नेतामा गनिन्छन्। ०२८ सालमा शेरबहादुर देउवा नेविसंघको अध्यक्ष हुँदा हमाल बाँके अध्यक्ष थिए। ०५३ सालमा कांग्रेस बाँकेका सभापति बनेका हमाल ०६४ सालको निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए। यद्यपि, उनी पराजित हुन पुगे।

कांग्रेस प्रजातान्त्रिक बन्दा हमाल देउवाका विश्वासपात्र थिए। हमालका दाजु भाइराजा कांग्रेसका स्थापित नेता थिए। उनको देउवासँग राम्रो दोस्ती थियो।

त्यही पारिवारिक सम्बन्धले गर्दा नै नेपालगञ्जमा सुशील कोइरालाको दबदबा हुँदा हमाल देउवातिर लागेका थिए। हमाल सुशील कोइरालाको कोभाजनमा परिरहे। राजनीतिमा लामो त्याग गरेका नेता हमाल कोइराला परिवारले मन नपराउँदा पछाडि परिरहेका थिए।

पछिल्लो समय हमाल हिन्दू राज्य बनाउने अभियान सक्रिय रहँदै आएका छन्। हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेरका जेठान पर्छन् । नाता पर्ने भएकाले हमाललाई प्रधानन्यायाधीश शमशेरको सिफारिसमा मन्त्री नियुक्त गरिएको आरोप लगाइएको छ।

अर्का मन्त्री गहतराज माओवादीको यस क्षेत्रको चर्चित नेता मानिन्छन् । उनी बाँके क्षेत्र नम्बर १ का सांसद हुन्। रुकुममा जन्मिएका गहतराज नेपालगञ्जको स्थायी बासिन्दा भइसकेका छन्।

माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा गहतराज बाँके, बर्दियामै खटिएका थिए। माओवादीको केन्द्रीय कमिटीमा रहँदै आएका गहतराजलाई यसपटक पार्टीले न्याय गरेको माओवादी नेताहरू बताउँछन्।

बाँकेबाट मन्त्री भएका हमाल र गहतराज जनतासँग घुलमिल भएका नेता मानिन्छन्।