April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

विश्वकप छनौटमा जर्मनीको पुनरागमनसहित जित

विश्वकप फुटबलको छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा जर्मनी विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह जे मा रहेको जर्मनीले रोमानियालाई २–१ ले पराजित गरेको हो ।

Advertisement

जर्मनीका लागि ५२ औँ मिनेटमा सर्गेइ ग्नाब्री र ८१ औँ मिनेटमा थोमस मुलरले गोल गरे । रोमानियाका लागि नवौँ मिनेटमा नै इयानिस हागीले गोल गरेर सुरुवाति अग्रता दिलाएका थिए, तर सो अग्रता जोगिन सकेन । सात खेलबाट १८ अंकसहित जर्मनी शीर्ष स्थानमा छ ।

Advertisement

लिचेस्टाइनलाई ४–० ले पराजित गरेको उत्तरी मेसेडोनिया १२ अंकसहित दोस्रो स्थानमा छ । आइसल्याण्ड र अर्मेनियाले १–१ को बराबरी खेलेका छन् । अर्मेनियाको १२, रोमानियाको १० तथा आइसल्याण्डको पाँच अंक छ । एक अंकसहित लिचेस्टाइन पुछारमा छ ।

शुक्रबार राति भएका अरु खेलमा वेल्स र चेक गणतन्त्रले २–२ तथा नर्वे र टर्कीले १–१ को बराबरी खेलेका छन् ।

रुसले स्लोभाकियालाई १–०, स्लोभेनियाले माल्टालाई ४–०, क्रोएसियाले साइप्रसलाई ३–०, नेदरल्याण्ड्सले लात्भियालाई १–०, मोन्टेनेग्रोले जिब्रालटारलाई ३–० तथा इस्टोनियाले बेलारुसलाई २–० ले पराजित गरेका छन् ।