बालसुधार गृह स्थानान्तरणमा पहल गर्छु : मन्त्री यादव


भैरहवा- लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहषराम यादवले भैरहवाको बाल सुधार गृह सांघुरो भएको बताउँदै त्यसलाई अन्यत्र सार्नुपर्ने बताएका छन् । उनले सानो ठाउँमा धेरै बालबालिका राख्दा स्वास्थ्य, सुरक्षा, शिक्षा लगायतमा समस्या भएको जनाउँदै यसलाई व्यवस्थित गर्न ढिलाई गर्न नहुने बताए ।
नेपाल बाल कल्याण संस्था सिद्धार्थनगरको १९औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री यादवले भने, ‘ठाउँ व्यवस्थापन गर्न आवश्यक छ । यहाँहरु सबै मिलेर उचित ठाउँ खोज्नुहोस् । पूर्वाधार बनाउन सरकारले सहयोग गर्छ ।’ मन्त्री यादवले प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको जनाउँदै योजनाबद्ध विकास र समृद्ध प्रदेश बनाउन लागिपरेको बताए ।
मन्त्री यादवले रुपन्देही विकसित जिल्ला भनिए पनि मर्चवारलगायत सीमा क्षेत्र अझै पछाडि परेको बताए । ‘म जति समय मन्त्री पदमा रहन्छु, पिछडिएको क्षेत्रको विकासमा लाग्छु’, उनले भने, ‘कम्तिमा मेरो कार्यकालमा सीमा क्षेत्रको पूर्वाधार विकास गर्नेछु ।’
संस्थाका पूर्व अध्यक्ष दिलीप भट्टराईले बालबालिकाको क्षेत्रमा सरकारले केही काम गर्न नसकेको बताए । ‘बालबालिकाको क्षेत्रमा यस्तो काम भयो, उस्तो काम भयो भनिन्छ तर अवस्था दयनीय छ’, उनले भने, ‘हरेक ठाउँमा बालश्रम बढ्दो छ । सरकार छ भन्ने आभाष नै हुनसकेको छैन ।’ उनले सरकारलाई गम्भीर भएर बालबालिकाको क्षेत्रमा काम गर्न आग्रह गरे ।
संस्थाका अध्यक्ष शिवप्रसाद गौडेलले संस्थाले बालबालिकाको बृद्धि, विकास र शिक्षादिक्षा क्षेत्रमा काम गर्दै आएको बताए । उनले भने, ‘हामीले विभिन्न बालगृह, सुधार गृहलगायतमा राखिएका बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा सहयोग गर्दै आएका छौं, यसलाई आगामी दिनमा पनि निरन्तर गर्नेछौं ।’
प्रतिकृया दिनुहोस्