April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

माल्दिभ्सको बंगलादेशमाथि जीत, नेपाल शीर्ष स्थानमा

साफ च्याम्पियनसिप फुटबलअन्तर्गत बिहीबार राती भएको दोस्रो खेलमा आयोजक माल्दिभ्सले बंगलादेशलाई २–० गोलले हराएको छ।

Advertisement

पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित माल्दिभ्सले बिहीबार पहिलो जीत निकालेको हो। उसको लागि हाम्जा मोहम्मद र अली अस्फाकले एकएक गोल गरे। दुवै गोल मध्यान्तरपछि भएको हो। हाम्जाले खेलको ५५ औं मिनेटमा गोल गर्दा अस्फाकले पेनाल्टीमार्फत खेलको ७४ औं मिनेटमा अर्को गोल थपे।

Advertisement

बिहीबार दोस्रो खेलमा जीत निकाल्दै आयोजक माल्दिभ्सले महत्वपूर्ण ३ अंक हात पारेको छ। तीन खेल खेलेको बंगलादेश एक खेल जीत, एक खेलमा हार र अर्को खेलमा बराबरी गरी ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

बिहीबार नै भएको पहिलो खेलमा भारत र श्रीलंका गोलरहित बराबरीमा रोकिएक थिए।

नेपाल शीर्ष स्थानमा

माल्दिभ्समा जारी १३ औँ संस्करणमा नेपाल ६ अंकसहित अंक तालिकामा पहिलो स्थानमा रहेको छ। नेपालले खेलेका दुइटै खेलमा जीत दर्ता गर्दै ६ अंक हात पारेको हो।

तीन खेल खेलेको बंगलादेश दोस्रो स्थानमा रहँदा बिहीबार बंगलादेशलाई हराएको आयोजक माल्दिभ्स ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ। दुई खेलमा बराबरीमा रोकिएको भारत २ अंकको साथमा चौथो स्थानमा रहेको छ।

तीनवटा खेल खेलेको श्रीलंका १ अंकका साग पुच्छारमा रहेको छ। बंगलादेश र नेपालसँग पराजित श्रीलंकाले बिहीबार भारतसँग बराबरी गरेर एक अंक खोसेको हो।

प्रतियोगिताअन्तर्गत शनिबार माल्दिभ्स र श्रीलंका तथा नेपाल र भारत भिड्दै छन्।