December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

सीमामा जंगे पिलर राख्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

सुस्तावासीहरुले सीमामा जंगे पिलर राख्न माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएका छन् । बर्षाैंदेखि विभिन्न समस्या झेल्दै आएका सुस्तावासीले बुधबार विभिन्न ९ बुँदे माग राख्दै मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाएका हुन् । संविधानसभा सदस्य देवकरण कलवारको नेतृत्वमा सुस्ता बचाउ अभियानका पदाधिकारी तथा सदस्यहरुले मुख्यमन्त्री केसीलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ता गाउँका बासिन्दाहरु २०२२ सालदेखि सुस्ताभूमिको संरक्षण र भारतीय पक्षको ज्यादती विरुद्ध लड्दै आएका छन् । भारतीय पक्षले १४ हजार ५०० हेक्टर क्षेत्रफल अतिक्रमण गरिसकेको छ भने १९ हजार ४८० हेक्टर क्षेत्रफललाई विवादित छ । कुल ४० हजार ९८० हेक्टर क्षेत्रफलमध्ये जम्मा ७ हजार हेक्टर क्षेत्रफल मात्र सुस्तावासीहरुसँग छ ।

सीमाको रेखाङ्कन र सीमामा जंगे पिलर नराखिएका कारण यो समस्या आएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खान बताउँछन् । उनी भन्छन्, ‘हामी सुस्तावासीहरुले भूमी मात्र गुमाएका छैनौ, भारतीय यातना समेत खेप्दै आएका छाैं ।’

Advertisement