April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

कानून कार्यान्वयनमा जनप्रतिनिधि र कर्मचारीको उत्तिकै भूमिका : यादव

भैरहवा– रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले कानूनको कार्यान्वयनमा जनप्रतिनिधि र कर्मचारी दुवैको सहकार्य र भूमिका उत्तिकै आवश्यक रहेको बताएका छन् । उनले स्थानीय सरकार गठनको साढे ४ वर्षमा रोहिणीका कर्मचारीहरुको सहयोग पाएको र आगामी दिनमा पनि यो सहयोग निरन्तर गर्न आग्रह गरे ।

Advertisement

गाउँपालिकाले आयोजना गरेको २ दिने जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि क्षमता अभिबृद्धि अभिमुखीकरण कार्यक्रमको समापन गर्दै यादवले स्थानीय सरकार सफल हुन कानूनको शासन हुन अपरिहार्य रहेको बताए । कतिपय स्थानीय तहमा आफूलाई नै सर्वोपरि ठानी मनोमानी गर्ने परिपाटी रहेकाले त्यसलाई त्याग्दै कानून अनुसार हिँडे मात्रै स्थानीय तह र त्यहाँका स्थानीयहरुको बिकास हुने जनाए ।

Advertisement

बिशेषगरि कोभिड महामारीको समयमा कर्मचारीहरुले देखाएको कामको उनले प्रशंसा गरे । कोभिडको समयमा आफ्नो घरपरिवार छोडेर रोहिणीवासीको सेवाको कारणले उनीहरुप्रति गाउँपालिका कृतज्ञ रहेको उनले जनाए ।

संघीय सरकार, प्रदेश सरकारले समय समयमा आफ्ना नीतिनियम परिवर्तन र अद्यावधिक गर्ने कारण सो नीति नियम बारे जनप्रतिनिधि तथा कर्मचारीहरु पनि अद्यावधिक हुन आवश्यक रहेकाले यिनिहरुको क्षमता अभिवृद्धिमा पालिकाले लगानी गरेको यादवले जनाए ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले संविधानले शासन चलाउने क्षमता, कानून बनाउने क्षमता र कार्यान्वयनको अधिकार दिएको बताए । उनले संविधानले स्थानीय सरकारलाई २२ वटा एकल अधिकारहरु प्रदान गरेको बताए ।

यस्तै प्रदेश, संघ र स्थानिय तहबीचको साझा अधिकार भनेर पनि बिभिन्न साझा अधिकारहरु प्राप्त भएको उनले जनाए । उनले स्थानीय सरकार कानून बनाउने र कानून अनुसार चल्ने दुवै रहेको बताए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजन, बिभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यका साथै पालिकाका कर्मचारीहरुको सहभागिता थियो । अभिमुखीकरण कार्यक्रमलाई गाउँपालिकाका कानूनी सल्लाहकार सुनिल त्रिपाठीले सहजीकरण गरेका थिए । कार्यक्रम योजना शाखा प्रमुख राजकुमार मिश्रले सञ्चालन गरेका थिए ।