February 8, 2025, Saturday
२०८१ माघ २७

लुम्बिनीमा एमालेको अवरोधबीच विधेयक संसदमा पेश

बुटवल– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि लम्बिनी प्रदेश सभाको बैठकमा नाराबाजी गरेको छ। एमालेको नाराबाजीबीच प्रदेशसभा बैठक संचालन गरिएको थियो ।

पार्टीले कारबाही गरेका सांसदद्वय बिमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान लिदैं एमालेले नाराबाजी गरेको हो। लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको आठौं बैठक चार बजेदेखि शुरु हुने भएको छ। यसअघि आज बसेको सातौं बैठकको अन्त्य गर्दै सभामूख पूर्णबहादुर घर्तीले ४ बजे अर्को बैठक बस्ने जानकारी दिएका हुन्।

अब बस्ने बैठकमा सरकारले प्रतिस्थापन विधेयक मार्फत् नयाँ बजेट ल्याउने तयारी गरेको छ। सातौं बैठकमा तीन वटा विधेयक संसदमा पेश भएका छन्। मुख्यमन्त्री कुलप्रसाद केसीको तर्फबाट पर्यटन, ग्रामीण तथा शहरी बिका मन्त्री डिल्लीबहादुर चौधरीले वन सम्बन्धमा बनेको विधेयक, प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक संसदमा पेश गरेका हुन्।