October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

बिहान ९-११ बजेसम्म तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक

गुल्मी– चाडपर्वको समय र स्कुल संचालन भएकाले भीडभाड हुने भन्दै गुल्मीमा ठूला सवारी संचालनमा कडाई गरिएको छ । गुल्मी सदरमुकाम तम्घास बजार क्षेत्रभित्र विहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

‘स्कुल बस सञ्चालन गर्ने समय भएकाले त्यस समयमा टिपर, ट्रक र ट्याक्टर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएका हौं’, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने ।

चाडपर्वको समयमा मानिसहरुको पनि भीडभाड हुने र सवारी साधनको पनि चाप बढ्ने भएपछि तम्घास बजार क्षेत्र अस्तव्यस्त हुने गरेको छ । तम्घास बजारका सरोकारवालाहरुसँगको छलफलपछि सवारी साधन सञ्चालनबारे नयाँ नियम बनाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सवारीको चाप व्यवस्थापन गर्न रेसुङ्गा नगरपालिकाका नगर प्रहरी पनि खटाउने, सवारीमा भाडादर देखिने गरेर टाँस्ने र सबैले मास्क अनिवार्य लगाउन आग्रह उनले बताए । ‘बजार क्षेत्रमा समान लोड र अनलोड बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म नगर्ने, खाली टिपर र ट्रकले बाख्रेछेडाको सडक प्रयोग गर्नुपर्ने नियम बनाइएको छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले भने ।

बजार क्षेत्रमा प्रेसर हर्न निषेध गर्ने र सवारी पार्किङ गर्दा सडकको एक छेउमा मात्र पार्किङ गर्ने, एक दिन एक छेउमा र अर्को दिन अर्को छेउ पार्किङ गर्ने गरी नियम बनाइएको प्रशासनले जनाएको छ ।