December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

महाधिवेशन सफल पार्ने एमाले तिलोत्तमाको निर्णय

तिलोत्तमा– नेकपा एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएपछि यस क्षेत्रका एमाले कार्यकर्ता उत्साहित बनेका छन् । एमाले तिलोत्तमा नगर कमिटी सचिवालयको सोमबार बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक र सांस्कृतिक राजधानी बुटवलमा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजना हुनुले यस क्षेत्रको पार्टीपंक्तिलाई उत्साहित बनाएको ठहर गरेको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते बुटवलमा गर्ने निर्णय आइतबार सम्पन्न विधान महाधिवेशनले गरेको थियो । ‘तिलोत्तमा नगर कमिटी अन्तर्गतका विभिन्न शाखा कमिटी लगायत जनवर्गीय संगठनहरु समेत बुटवलमा हुने महाधिवेशनप्रति उत्साहित छन्’, एमाले तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले भने ।

बैठकले महाधिवेशन सफल पार्न नगरको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको पनि उनले बताए । महाधिवेशन बुटवलमा आयोजना हुने भएपछि यस क्षेत्रको आर्थिक गतिविधि पनि बढ्ने र भविष्यमा यस क्षेत्रको ऐतिहासिकता पनि बढ्ने बैठकले ठहर गरेको छ ।

Advertisement