March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

मनसुन बाहिरिन अझै समय लाग्ने

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको अवधि सकिए पनि मनसुन बाहिरिन भने अझै समय लाग्ने जानकारी दिएको छ । विभागले यस वर्षको मनसुनको समयावधि अक्टोबर २ सम्म तोकेको भएपनि मनसुनको प्रभाव अझै कायम रहने जनाएको हो । 

विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय गरेको हो । यो अवधिको मिति अबको ३० वर्षसम्म कायम रहनेछ । मनसुन सुरु हुने मिति पनि एक दिन पछाडि सरेर जुन १० बाट ११ जुन तय गरिएको छ । अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक्रिय छ । जसका कारण देशका धेरै भू–भागमा बदलीसहित वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

विभागले मनसुन बाहिरिनका लागि पश्चिमी वायु सक्रिय हुनुपर्ने, न्यूनचापीय रेखा बन्न र जल वाष्पको आवतजावतमा कमी आउनुपर्छ । तर, अहिलेसम्म त्यसो हुन नसकेको र पश्चिमी वायुको गतिले पूर्वीय वायु विस्थापित गरेर आकाशमा पश्चिमी वायुको प्रभाव बढेपछि मात्र मनसुन नेपाल बाहिरिने मौसमी प्रवृत्ति रहँदै आएको छ । त्यसो नभएकै कारण यस वर्ष मनसुनी अवधि थप लम्बिने सम्भावना बढेको हो । 

Advertisement