शनिबार भैरहवामा तेक्वान्दो संघको महाधिवेशन
भैरहवा– रुपन्देहीको भैरहवामा शनिबार नेपाल तेक्वान्दो संघको चौथो केन्द्रीय महाधिवेशन हुने भएको छ । संघले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी महाधिवेशनबारे जानकारी गराएको हो । महाधिवेशन यही असोज १६ गते हुने छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष प्रकाश शम्शेर राणाले मुलुकभरबाट प्रतिनिधि यहाँ आउने बताए ।
‘महाधिवेशनमा ५६ जिल्लाका तेक्वान्दो संघका अध्यक्ष, सात प्रदेशका तदर्थ समिति अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहने छ’, उनले भने, ‘खेलकुदमा रुचि राख्ने र खेलाडीहरु प्नि यहाँ आउनुहुनेछ ।’
संघको चौथो महाधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि नायाँ नेतृत्व चयन गर्नेछ । ‘अब, आउने नेतृत्वले संघलाई नयाँ योजना र कार्यक्रमसहित सञ्चालन गर्ने छ’, उनले भने, ‘बाँकी जिल्लामा संघ गठन गर्दै खेलाडी उत्पादन तथा प्रशिक्षणका कार्यक्रम अघि बढाइनेछ ।’
महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र ११ जना सदस्य निर्वाचित हुनेछन् । २०६६ सालमा वीरगंजमा भएको पहिलो महाधिवेशनले संघलाई संस्थागत रुपमा स्थापित गराउन सफल भएको राणाले बताए । उनका अनुसार संघको तेस्रो महाधिवेशन २०७४ साल असोज २४ गते बाराको सिमरामा भएको थियो ।
‘तेक्वान्दो खेलमार्फत संघले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गरेको छ’, उनले भने, ‘तर, सरकारले यो खेललाई फरक दृष्टिकोणले हेरेको छ । सहयोग केही छैन । मुलुक चिनाउने संस्थामाथि बेवास्ता गरिएको छ ।’
उनले देशको मूल कानूनको आधारमा रही प्रदेशस्तरीय संघ समेत गठन गरेको बताए । ‘आगामी २०७८ मंसिर महिनाभित्र ती प्रदेश संघको अधिवेशन सम्पन्न गरी प्रदेश संघको नेतृत्व चयन गरी स्थायित्व प्रदान गरिने छ’, राणाले भने ।
नेपाल तेक्वान्दो संघ रुपन्देहीका अध्यक्ष दिपेन्द्र बुढाप्रिथीको धन्यवाद ज्ञापन तथा संघका केन्द्रीय महासचिव देवराज गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य कोशिष बहादुर खड्का लगायतको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस्