January 25, 2025, Saturday
२०८१ माघ १३

गुलाब चक्रवातको अप्रत्यक्ष प्रभाव, वर्षाको सम्भावना भने न्यून

गुलाब नामक शक्तिशाली चक्रवातको अप्रत्यक्ष प्रभावका कारण देशभर बदलीको अवस्था भए पनि त्यसकै कारण वर्षाको सम्भावना न्यून रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गएको शुक्रबार बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भई शनिबार बनेको गुलाब नामक शक्तिशाली चक्रवात‍ आइतबार राति भारतको उडिसाको जमिनमा अवतरण भएको हो।

Advertisement

यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुनसक्ने तर यसको असरका कारण देशमा वर्षा हुने सम्भावमा भने न्यून रहेको मौसमविद्ले बताएका छन्।

मनसुन न्यून चापीय रेखा अहिले औसत स्थानभन्दा केही दक्षिणतिर रहेको पनि महाशाखाले जनाएको छ।

अहिले  गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैबीच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।