मैत्रीपूर्ण खेलमा ओमानको नेपालमाथि फराकिलो जित
![](https://publickura.com/wp-content/uploads/2021/11/lumbini-bikash.gif)
![](https://publickura.com/wp-content/uploads/2021/09/football.jpg)
साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली टोलीले अभ्यासका लागि भएको मैत्रीपूर्ण खेलमा गम्भीर हार बेहोरेको छ ।
कतारको दोहामा आइतबार राति भएको ओमानसँगको खेलमा नेपाल ७–२ ले पराजित भएको हो । पहिलो हाफमा एक गोल गरेर दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खायो र मात्रै एक गोल फर्काउन सक्यो ।
नेपालका लागि आयुष घलान र अनन्त तामाङले गोल गरेका हुन् । नेपाली टोली साफ च्याम्पियनसिपमा सहभागी हुन सोमबार दोहाबाट माल्दिभ्स तर्फ जाने छ । प्रतियोगिता अक्टोबर १ देखि सुरु हुँदैछ ।
नेपालले अक्टोबर १ तारिखमा माल्दिभ्ससँग खेल्दै यात्रा सुरु गर्दै छ। नेपालले अक्टोबर ४ तारिखमा श्रीलंका, अक्टोबर १० तारिखमा भारत र अक्टोबर १३ तारिखमा बंगलादेशसँग खेल्ने छ। लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि अक्टोबर १६ तारिखमा प्रतिस्पर्धा हुनेछ ।
यसैबिच साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २२ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन् ।
किरणकुमार चेम्जोङलाई कप्तानीमा निरन्तरता दिइएको टोलीमा दीप कार्की र विशाल श्रेष्ठ अन्य दुई गोलरक्षकका रुपमा रहेका छन्। दिनेश राजबंशी, सुरज जिउ ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई र सुनिल बल टोलीमा रहेका छन् ।
यस्तै आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, मनिष डाँगी, आयुस घलान, कमल थापा र रोहित चन्द रहेका छन्। गोलकिपर विकेश कुथुसहित डिफेन्डर राजन गुरुङ टोलीबाट बाहिरिएका छन् ।
प्रतिकृया दिनुहोस्