May 17, 2025, Saturday
२०८२ जेष्ठ ३ शनिबार

पालिका अधिवेशन: आज देउवा र पौडेल समर्थक भिड्दै

भैरहवा- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज विभिन्न गाउँ र नगरमा स्थानीय तहको निर्वाचनको रौनक छ । अधिकांश पालिकामा कांग्रेस मुख्य नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच नेतृत्वका लागि हानथाप छ ।

पार्टीको गाउँ/नगर अधिवेशन अहिले गुटगत भिडन्तमा परिणत भएको छ । शनिवार बिहानैदेखि गाउँ/नगरमा प्यानल घोषणा गरेर चुनावी भिडण्तमा उत्रिएकाहरुबीच माहोल पक्षमा पार्न अन्तिम करसत देखिएको छ ।

Advertisement

लुम्बिनी प्रदेशका गाउँ र नगरमा एकसातादेखि तामझामसाथ प्रचार प्रसार भइरहेका छन् । केन्द्रमा धेरै गुट र आकांक्षी देखिए पनि यहाँ वर्तमान पार्टी सभापती देउवा र बरिष्ठ नेता पौडेल पक्षमा कार्यकर्ता विभाजित देखिएका छन् ।

गाउँ/नगर अधिवेशनमा यी दुइ पक्षबीच प्रमुख टक्कर देखिएको छ । दुबै पक्षले यहाँ तामझामसाथ उम्मेदवारी घोषणा गरेका थिए । उनीहरु प्यानल बनाएर मैदानमा छन् । रुपन्देहीमा अधिवेशनले कार्यकर्ता चलायमान बनाएको छ । जिल्लाका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना लगायतका नगरमा कार्यकर्ता पक्षमा पार्न क्रियाशील छन् । गाउँ/नगर अधिवेशनका लागि उम्मेद्वार आफ्नो पक्षमा माहोल बनाउन सक्रिय भएका छन् ।

रुपन्देहीमा उम्मेदवारी घोषणामा देउवा पक्षधरले आफूलाई संस्थापनका रुपमा प्रचार गरेका छन् भने पौडेल पक्ष हस्तक्षेपको तयारीमा छन् । रुपन्देहीका धेरै तहमा दुइ गुटबीच भिडन्त छ । केहीमा भने देउवा पक्षधर विभाजित देखिएका छन् । जिल्लामा बालकृष्ण खाँण र भरत शाह देउवा पक्षधर हस्तीमा रुपमा छन् ।

यहाँ कार्यकर्ता खाँण र शाहको पक्षमा बिभाजित बनेका छन् । त्यसैले केही तहमा देउवा पक्षधरकै दुई प्यानल घोषणा गरिएका छन् । देउवा पक्षधरमा देखिएको विभाजनको फाइदा उठाउने दाउमा बरिष्ठ नेता पौडेल पक्षधर देखिन्छन् ।

देउवा-पौडेल वर्चश्वको भिडन्त

रुपन्देहीको केन्द्रमा रहेको बुटवल उपमहानगरपालिकामा हुने प्रतिष्पर्धालाई चासोकासाथ हेरिएको छ । धेरै क्रियाशील सदस्य र राष्ट्रिय राजनीतिमा महत्व राख्ने भएकाले उपमहानगरको नेतृत्व कसले गर्ने भन्ने कुराले महत्व पाएको हो । बुटवलमा कांग्रेसका ५ हजार ५७० क्रियाशील सदस्य छन् ।

उपमहानगरका १९ वडाबाट ५ सय ८४ जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । बुटवलमा पौडेल पक्षबाट नगर सभापति खेलराज पाण्डे प्रतिष्पर्धामा उत्रिएका छन् । उनको प्यानलबाट उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिव छायाँ पोखरेल र गंगा पन्थी, सहसचिव देवलाल अरगेली र पुरुषोत्तम खनाल मैदानमा छन् । बुटवलमा देउवा पक्षबाट रीता केसी क्षेत्रीले नगर सभापतिमा उम्मेदवारी घोषणा गरेकी छन् । उनको प्यानलबाट उपसभापतिमा नरबहादुर रजाली मगर र हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल र जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बाँस्कोटा र गणेश घिमिरेल भिडन्तमा उत्रिएका छन् ।

वर्तमान गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको गृहनगर तिलोत्तमा नगरपालिकामा देउवा र पौडेल पक्षधर प्यानलसहित प्रतिष्पर्धामा उत्रिएका छन् । यस नगरपालिका १७ वडाबाट ३९२ क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । तिलोत्तमामा देउवा पक्षबाट हरिलाल पाण्डे सभापतिका उम्मेदवार छन् । उनको नेतृत्वको प्यानलबाट उपसभापति कल्याण पौडेल र माया चौधरी, सचिवमा प्रदिप थापा र हुमप्रसाद पौडेल, सहसचिवमा दिपक थापा र रमेश पराजुली रहेका छन् । बरिष्ठ नेता पौडेल पक्षबाट नगर सभापतिमा नारायण न्यौपानेले चुनौती दिएका छन् । न्यौपान पक्षबाट उपसभापति अशोककुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्याय मैदानमा छन् ।

सैनामैना नगरपालिकामा दुवै पक्ष प्यानल घोषणा गरेर चुनावमा उत्रिएका छन् । देउवा पक्षबाट नगर सभापतिमा कृष्णप्रसाद पोख्रेल छन् । उनको नेतृत्वमा उपसभापति नीलप्रसाद थापा र मिना श्रेष्ठ, सचिवमा कृष्णप्रसाद कँडेल र सुभाष पौडेल, सहसचिवमा श्यामप्रसाद अधिकारी र सुरेश परियारले उम्मेदवारी दिएका छन् । यहाँँ देउवा समुहकै अर्को प्यानल बनेको छ ।

जसमा भरत शाह समर्थक रहेका छन् । यो पक्षबाट सभापति रणबहादुर खनाल, उपसभापतिमा लोकमणि भट्टराई र लक्ष्मी आचार्य पौडेल, सचिव पदमा चुणामणि घिमिरे र अर्जुन पौडेल, सहसचिवमा मनु काउचा र शारदा रौतारले उम्मेदवारी दिएका छन् । सिद्धार्थनगर नगरपालिकामा देउवा पक्षबाट सभापतिमा कोशिस खड्का मैदानमा छन् । उनी साफमा स्वर्णधारी अन्तराष्ट्रिय खेलाडी हुन् ।

खेलमा ख्यातीपछि राजनीतिमा सफलता हाँसिल गर्ने दाउमा उनी रहेका छन् । सिद्धार्थनगरमा पौडेल पक्षबाट संजीव शर्मा रेग्मीले प्यानल घोषणा गरेका छन् । देवदहमा देउवा पक्षबाट सभापतिमा गुणाखर भुर्तेल र पौडेल पक्षबाट झविन्प्रसाद पाण्डे मैदानमा छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा वर्तमान सभापति मोहम्द सईत खाँ नै दोहोरिने सम्भावना रहेको छ । उक्त नगरमा सहमतीको पहल भइरहेको पार्टीले जनाएको छ ।