February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

तिनाउमा भेटिएको शव आदर्शनगरका बालकको

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका देविनगरस्थित तिनाउ नदीमा फेला परेको शवको पहिचान भएको छ । यहाँ भेटिएको उक्त शव बुटवल–४, आदर्शनगरका ८ वर्षीया सुजन सारुको भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ ४ बजेदेखि परिवारको सम्पर्कमा नरहेका सुजन पौडी खेल्ने क्रममा खोलामा बगेर मृत्यु भएको बताइएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी मदन कुँवरले हिजो साँझसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले बालक हराएको भन्दै जानकारी गराएको बताए ।

शुक्रबार विहान बुटवल–११, बुद्धनगरको पुलभन्दा मुनि तिनाउ नदीमा ढुंगामा अड्किरहेको अवस्थामा सुजनको शव फेला परेको थियो । उक्त शवसुजनको भएको उनकी आमाले पुष्टि गरेका प्रहरीले जनाएको छ ।