यी हुन् ईपीएल खेल्न आउने विदेशी खेलाडीहरू


एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट शनिबारदेखि सुरु हुँदै छ । योपटकको ईपीएललाई फरक रूपमा हेरिएको छ । विदेशी खेलाडीहरूको चामले नेपाली क्रिकेटमा केही नयाँ आशा राखिएको छ ।
चौथो संस्करणमा आइपुग्दा ईपीएलले नयाँ उचाइ लिने पक्का छ । यो सिजन ६ सहरको प्रतिनिधित्व गर्दै भैरहवा ग्ल्याडियटर्स, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, पोखरा राइनोज, चितवन टाइगर्स र काठमाडौं किंग्स–११ ले सहभागिता जनाउँदै छन् ।
योपटक सबै टोलीहरूले अनुबन्ध गरेका विदेशी खेलाडीहरूले लिगमा थप चाम छर्ने विश्वास लिइएको छ । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीदेखि उपुल थारांगा, तामिम इकवाल, केसरीक विलियम्सलगायत खेलाडीहरूले टिममा थप रोचकता दिनेछन् । घरेलु लिगमा पहिलोपटक ठूला विदेशी खेलाडीहरू अनुबन्ध गरिएको हो ।
ईपीएल विजेता टोलीले योपटक नेपाली क्रिकेटकै सर्वाधिक पुरस्कार रकम ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ ।
शनिबारदेखि हुने ईपीएलका लागि सबै टोलीले आफ्ना विदेशीसहित सबै खेलाडीहरूको नामावली सार्वजनिक गरिसकेका छन् ।
ललितपुर प्याट्रियट्स
साविक विजेता ललितपुर प्याट्रियट्सले यो सिजन पनि लिगको उपाधि जित्ने योजना बनाएको छ । त्यसका लागि ललितपुरले विदेशी खेलाडी पनि अनुबन्ध गरेको छ । अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नान्डो, शनदन विराक्कोडी र मिक्यो दोर्जी ललितपुरका विदेशी खेलाडी हुन् ।
अफगानिस्तानका अलराउन्डर अज्मतुल्लाहले पनि पहिलोपटक नेपाली घरेलु क्रिकेट लिग खेल्न थालेका हुन् । त्यस्तै, भुटानका ब्याट्म्यान मिक्यो दोर्जीले पनि पहिलोपटक नेपाली घरेलु लिग खेल्दै छन् । उनको आगमनले ललितपुरलाई केही राहत हुने विश्वास लिइएको छ ।
ललितपुरले श्रीलंकाकै ओशाडा फर्नान्डो, शनदन विराक्कोडीलाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ । नेपाली राष्ट्रय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरमा पवन सर्राफ, राशिद खान, कुशल भुर्तेलजस्ता नेपाली खेलाडी छन् ।
काठमाडौं किंग्स–११
यो सिजन उपाधि दाबेदार टोली हो काठमाडौं । काठमाडौंले अनुबन्ध गरेको विदेशी खेलाडी र टोलीमा रहेका राष्ट्रिय टिमका खेलाडीको आधारमा टोलीको प्रदर्शन उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।
काठमाडौंले विदेशी खेलाडीको रूपमा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई टिममा अनुबन्ध गरेको छ । त्यस्तै, टिममा राष्ट्रिय टोलीका पेसर गुल्सन झा, सुवास खकुरेल, राजु रिजाल, सिद्धान्त लोहनी, जितेन्द्र मुखिया छन् ।
काठमाडौंमा जिम्बाब्वेका अलराउन्डर रायन बर्ल, अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमनुल्लाह गुर्बज र सिंगापुरका जनकप्रकाश पनि छन् । टिमको प्रशिक्षकमा पूर्वराष्ट्रिय क्रिकेट समेत रहेका कलाम अलि रहेका छन् ।
पोखरा राइनोज
पोखरा राइनोज पनि यो संस्करणको उपाधि दाबेदार टोली हो । पोखराले विदेशी खेलडीको रूपमा दक्षिण अफ्रिका, वेस्ट इन्डिजजस्ता देशहरूबाट खेलाडी अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय टोलीका खेलाडी विनोद भण्डारी पनि पोखराबाट नै खेल्नेछन् ।
पोखरामा विदेशी खेलाडीको रूपमा दक्षिण अफ्रिकाका रिचर्ड लेभी, वेस्ट इन्डिजका फास्ट बलर केसरिक् विलियम्स, श्रीलंकाका अलराउन्डर असेला गुनरत्ने, पूर्वश्रीलंकन यु–१९ क्रिकेटर सहान अरचिगे छन् ।
पोखराले चारजना विदेशी खेलाडी अनुबन्ध गरेसँगै टिम थप बलियो बनेको जनाएको छ । तर, पोखराले हालसम्म कप्तानीको जिम्मेवारी कसलाई दिने भन्ने टुंगो लगाएको छैन ।
पोखराको मुख्य प्रशिक्षकमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक उमेश उमेश पटवाल छन् । त्यस्तै, बलिङ प्रशिक्षकको जिम्मेवारी भने पूर्वक्रिकेटर शक्ति गौचनले पाएका छन् ।
भैरहवा ग्ल्याडियटर्स
राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्स पनि ईपीएलको उपाधि दाबेदार टोली हो । शरदको कप्तानीमा रहेको टिममा नेपाली टोलीका आरिफ शेख, रोहित पौडेल, कुशल मल्ल र अविनाश बोहरा छन् ।
भैरहवाले विदेशी खेलाडीको रूपमा बंगलादेशका ब्याट्सम्यान तामिम इक्बाल, श्रीलंकान ब्याट्सम्यान उपुल थारांगा र फास्ट बलर धम्मिका प्रसाद र मलेसियन अलराउन्डर शर्भिन मुनिएन्डीलाई क्लबमा अनुबन्ध गरेको छ ।
यो टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक पुबुदु दासानायके छन् । पुबुदुको प्रशिक्षकत्व र शरदको कप्तानीमा भएका कारण यो सिजन टिमले उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ ।
चितवन टाइगर्स
चितवनले योपटक विदेशी खेलाडीको रूपमा अफगानिस्तानका मोहम्मद शाहजाद र अफगानिस्तानका अलराउन्डर करीम जनत, श्रीलंकन लेग स्पिनर सेक्कुगे प्रसन्ना र मलेसियन ब्याट्सम्यान भीरनदिप सिंह रहेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर सोमपाल कामीको कप्तानीमा रहेको चितवनमा इशान पाण्डे, शाहब आलम, कमलसिंह ऐरी रहेका छन् । चितवनले आफ्नो मुख्य प्रशिक्षकको रूपमा भारतीय प्रशिक्षक पुरु सिंहलाई अनुबन्ध गरेको छ ।
विराटनगर वारियर्स
विराटनगरको कप्तानी योपटक पारस खड्काले गर्ने सम्भावना कम छ । पारसले गएको सिजन भने विराटनगरको कप्तानी गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका पारसले घरेलु क्रिकेट खेल्ने बताएका थिए ।
तर, यो सिजन पारसले ईपीएल खेल्ने सम्भावना कम छ । यदि, पारसले टिमबाट नखेल्ने भएमा विराटनगरको कप्तानी करण केसीले गर्नेछन् ।
विराटनगरले आफ्नो विदेशी खेलाडीको रूपमा जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजा, क्यानडाका ब्याट्सम्यान रायन पठान, वेस्ट इन्डिजका ओपनिङ ब्याट्सम्यान चन्द्रपल हेमराज र श्रीलंकन ब्याट्सम्यान दिलशान मुनाविरालाई अनुबन्ध गरेको छ । विराटनगरको मुख्य प्रशिक्षक भाने मनोज कटवाल रहेका छन् ।
प्रतिकृया दिनुहोस्