February 8, 2025, Saturday
२०८१ माघ २७

प्रेसमैत्री कानून बनाउन महासंघ अध्यक्ष पोखरेलको आग्रह

बुटवल– नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेसमैत्री कानुन बनाउन तीन तहकै सरकारलाई आग्रह गरेका छन् । उनले महासंघले पटक–पटक प्रेसमैत्री कानून बनाउन आग्रह गरेको स्मरण गर्दै प्रेसलाइ अकुंश लगाउने कुनै पनि कानुन स्विकार्य नहुने बताए ।

नेपाल पत्रकार महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा सोमबारदेखि बुटवलका शुरू भएको एक हप्ताको आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष पोखरेले भने, ‘संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंच गरेर कानुन निर्माण गरिरहेका छन्, यसमा हाम्रो आपत्ति छ । सुधार्नुपर्छ ।’

Advertisement

लुम्बिनी प्रदेश सरकारले पनि प्रेसविरोधि कानून ल्याएको उनले बताए । ‘त्यसलाई फिर्ता गर्न माग गरेका छौं’, अध्यक्ष पोखरेलले भने, ‘सरकारले नसच्याए महासंघले स्वीकार गर्दैन । विरोधमा उत्रिन्छौं ।’

उनले लुम्बिनिसहित केही प्रदेशले बनाएका मिडिया सम्बद्व कानुन प्रेसविरोधि भएकाले त्यसकाविरूद्व पत्रकारहरू बोल्नुपर्ने बताए । अध्यक्ष पोखरेलले पत्रकारिता प्रति थुप्रै प्रश्न उब्जेकाले त्यसलाई चिर्नु पर्ने बताए । प्रेस बलियो हुनु पर्नेमा उनले जोड दिए ।

पत्रकारिता तालिममले दक्ष र प्रेस, अभिव्यक्ति स्वतन्त्रताका सवालमा बोल्ने, लेख्ने पत्रकारहरू तयमर पार्ने विश्वास समेत व्यक्त गरे । नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष गोविन्द आचार्यले क्षमता विकास गर्न सके पत्रकारीता क्षेत्रमा प्रशस्त अवसर रहेको जनाए । उनले भने, ‘पत्रकार महासंघ पत्रकारहरूको क्षमता अभिवृद्धि र पेसागत सुरक्षाका लागि विगतदेखि नै काम गरिरहेको छ । तपाईंहरुले आफ्नो क्षमतालाई निखार्दै लैजानुस् ।’

तालिम शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्का, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक मान सिंह बिश्वकर्मा, पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पोख्रेल, सचिव विनोद परियारले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गरे ।