June 12, 2025, Thursday
२०८२ जेष्ठ ३० शुक्रबार

नेपाल चिनाउन लुम्बिनी महत्वपूर्ण सम्पत्ति : मुख्यमन्त्री केसी

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वमा नेपाललाई चिनाउन लुम्बिनी एउटा महत्वपूर्ण सम्पत्ति भएको बताएका छन् । यसैकारण प्रदेशको नामाकरण नै लुम्बिनीबाट राखिएको बताए । ‘यसले प्रदेशकोको पहिचान बोकेको छ’, उनले भने ।

शनिबार लुम्बिनी विकास कोषले यहाँ आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेशभित्रै रहेको लुम्बिनी क्षेत्र र गौतम बुद्ध विश्वकै ऐतिहासिक साँस्कृतिक सम्पत्ति रहेकाले प्रदेश सरकारले गौरवको आयोजनामा राखेर यहाँको विकासका लागि काम गर्ने बताए । मुख्यमन्त्रीले केसीले भने, ‘लुम्बिनी प्रदेश सरकारले लुम्बिनीलाई प्रदेशकै साँस्कृतिक शहर निर्माण गर्ने, बुटवललाई औद्योगिक क्षेत्र बनाउने र प्रदेशका आमनागरिकलाई पायक पर्ने राप्ती उपत्यकामा प्रदेशको राजनधानी निर्माण गर्नेछ ।’

Advertisement

उनले लुम्बिनी क्षेत्रमा एउटा सुविधायुक्त बर्थिङ सेन्टर, विश्वले देख्न सक्ने अशोक स्तम्भ निर्माण गर्ने, बुद्धका जन्मेदेखि मृत्युसम्मको सम्झना झल्किने गरी बुद्ध पार्क निर्माण गर्नुपर्ने बताए । ‘लुम्बिनी क्षेत्रलाई विकास गर्न साझा दायित्वसाथ एकीकृत गुरुयोजनामा निर्माण गरी अगाडि बढ्नुपर्छ’, उनले भने ।

लुम्बिनी क्षेत्र भित्रको विकासका लागि विशाल खेलकुद मैदान निर्माण, ग्लोवल पिस पार्क बनाउन उनले आग्रह गरे । उनले लुम्बिनी क्षेत्रमा पर्यटक आकर्षित गर्नका लागि यहाँको साँस्कृतिक एवं ऐतिहासिक सम्पत्तिलाई संरक्षण गर्दै आधुनिक सूचना प्रविधिमा जोड्नु पर्ने बताए ।

उनले गौतम बुद्ध, मायादेवी लगायतको बारेमा डिजिटल बोर्ड निर्माण गरी सूचनालाई प्रविधिबाट सबै पर्यटकलाई जानकारी गराउन विकास कोषलाई निर्देशन दिए । मुख्यमन्त्री केसीले आज यहाँ अम्रपाली आँपको विरुवा रोपेका थिए । अन्तरक्रिया कार्यक्रममा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी क्षेत्र विश्व सम्पदामा रहेको शान्तिको उर्वर भूमि भएको बताए ।

यहाँको विकासमा कन्जुस्याइँ गर्न नहुने उनले बताए । प्रदेश सरकारबाट विकासका लागि सहयोग गर्न तयार रहेको बताए । उनले विकासका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।