लुम्बिनी प्रदेशसभा बैठक फेरि एक हप्ताका लागि स्थगित
बुटवल – पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक फेरि पछि धकेलिएको छ । हप्ता दिनका लागि बैठक पछि सारिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठक केहीबेर चलेर स्थगित गरिएको थियो ।
बिहीबार एमाले सांसदको नाराबाजी पछि पहिलो बैठक एक घण्टा स्थगित गरिएको थियो । दोस्रो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा विवादित सांसदबारे जानकारी दिएका थिए । लगत्तै सभामुखले बैठक सकिएको र आगामी बैठक असोज ७ गते बस्ने जानकारी दिए ।
सूर्य चिह्नबाट चुनाव लडेका तर अहिले अन्य पार्टीमा गएपछि पार्टीले कारबाही गरेका दुई सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना नदिएको विरोधमा एमालेले संसदमा नाराबाजी गरेको थियो । सांसद विमला कुमारी खत्री वली र मन्त्री समेत रहेका अजय शाहीलाई सांसदबाट हटाउनु पर्ने एमालेको माग छ ।
प्रतिकृया दिनुहोस्