October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

जनयुद्धले देशको स्वरुप फेरियो : खाँ

भैरहवा– नेकपा माओवादी केन्द्रका नेता हकिकुल्ला खाँले देशको स्वरुप माओवादी जनयुद्धकै कारण फेरिएको बताएका छन् । बिहीबार माओवादीको भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिद्धार्थनगर नगर कमिटीको भेला तथा प्रशिक्षणमा बोल्दै नेता खाँले देशमा भएका परिवर्तनका एजेण्डाहरु माओवादी केन्द्रकै भएको र हरेक वर्ग, जाति लिङ्गको मुक्तिको आन्दोलन माओवादी जनयुद्धको आरम्भसँगै तिब्रता पाएको जनाए ।

आगामी दिनमा यसलाई बचाई राख्न सबैको दायित्व रहेको उनले तर्क गरे । पार्टीका नेतचा रामप्रसाद बन्जाडेले महिलाहरुलाई राज्यका हरेक निकायमा समान सहभागिता र नेतृत्वमा ल्याउनका लागि माओवादी आन्दोलनको महत्वपूर्ण भुमिका रहेको बताए । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सरकारका तिनै तह, राजनैतिक दल तथा परिवार र स्वयम् व्यक्तिले नै योजना बनाउने र कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।

पार्टी केन्द्रिय समिति सदस्य तथा अनेमसंघ केन्द्रिय उपाध्यक्ष लुम्बिनी प्रदेश इन्चार्ज दामा शर्माले नेपालको संविधानमा महिलाहरुको हकअधिकार सुनिश्चित गर्ने पार्टी नेकपा माओवादी रहेको बताइन् । पार्टी नेता निर्मल जिसीले देशमा संघीयताका लागि नेपाली जनताले गरेको बलिदानलाई सदैव स्मरण गर्दै पार्टीको आस्था बोकेर गोलबन्ध भई संगठनमा लाग्नु पर्ने बताए । उनले सिद्धार्थनगर नगर कमिटीले कोभिड महामारीका बखत गरेको कार्य प्रशंसायोग्य रहेको बताउदै पार्टीको क्रियाकलापलाई अझै शशक्तिकरण ढंगले अगाडि बढाउनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा महिला नेतृ सोनिया यादव, टिका वली, रिज्जु श्रेष्ठ लगायतले पुरुष सरह महिलाले पैतृक सम्पतिमा समान अधिकार जस्ता हकअधिकारको सुनिश्चितता नेकपा माओवादीले गर्दा नै सम्भव भएको बताए । कतिपय संविधानमा लेखिएका कुरा कार्यान्वयन नहुँदा अझै पनि महिलाहरु घर तथा समाजमा नै सिमीत रहनुपर्ने अवस्था रहेकोले न्याय, समानता र अधिकारका लागि फेरि एक पटक सबैले हातेमालो गर्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा नेकपा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा अनेमसंघ केन्द्रिय उपाध्यक्ष लुम्बिनी प्रदेश अध्यक्ष पार्वती पुन, जिल्ला सचिवालय सदस्य तिरबहादुर रोका (डार्विन), जिल्ला सदस्य नारायण हमाल, फैज अहमद खाँ, मेघराज खाँण, वाइसिएल नेपाल जिल्ला संयोजक केशव कुँवर, वडा कमिटी अध्यक्ष लोकेन्द्र धामी, ध्रुव लाम्गादे, लक्ष्मण सुनार, डम्बर बहादुर खत्री, वाइसिएल नेपाल नगर संयोजक दिलिप प्रजापती, प्रेस संगठन नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष कमल रायमाझी लगायत हजार बढी महिला कार्यकर्ताहरुको उपस्थिति थियो । कमला थापाको अध्यक्षता, कल्पना परियारको स्वागत मन्तव्य र लक्ष्मी पोखरेलको संचालनमा भएको भेलाले ७५ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ ।