July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

लुम्बिनीमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।  

Advertisement

काठमाडौं उपत्यकामा आज दिनभर मौसममा बदली हुने छ । अधिकांश समय मौसममा बदली हुँदा घाम नलाग्ने मौसमविद् मीनकुमार अर्याल बताउँछन् । 

विहानैदेखि मौसम बदली रहेको काठमाडौंमा आज सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । “काठमाडौंमा अझै केही दिन मौसममा बदली रहन्छ । शनिबारबाट भने मौसम केही खुल्ने छ,” उनले भने ।   

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको आर्याल बताउँछन् । सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ । 

हल्कादेखि मध्यम तथा भारी वर्षाको सम्भावना रहेका क्षेत्रका पहाडी  भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागको आग्रह छ । 

हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको विभागले जनाएको छ ।