July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

एमालेलाई छेक्न खोज्ने शक्ति आफै बिलाएर जान्छन् : ओली

बुटवल– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई छेक्छु, रोक्छु र तोड्छु भन्ने शक्ति आफै बिलाएर जाने दावी गरेका छन् । उनले पछिल्लो समय यस्तो प्रयास भए पनि सम्भव नभएको बताए । माधव नेपालले पार्टीमाथि बञ्चरो प्रहार गरिरहेको उल्लेख गर्दै उनलाई कमरेड भन्न नसकिने उनले बताए । ‘प्रतिक्रियाबादीको सेवा गर्दै देउवा नेतृत्वको सरकार बनाउने माधव नेपाल कमरेड हुनै सक्तैनन्’, उनले भने ।

Advertisement

एमालेले बुटवलमा आज आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले केही तत्वले फुटाउन खोजे पनि पार्टीलाई देशभरीका कार्यकर्ताले जोगाएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका उनले भने, ‘पार्टी ध्वस्त र समाप्त गर्न खोज्नेहरूबाट कार्यकर्ताले जोगाए छन् ।’

Advertisement

‘यो पार्टी ध्वस्त पार्न लागिएको थियो, समाप्त पार्न लागिएको थियो, कब्जा गर्न खोजिएको थियो । केही बच्यो भने प्रतिक्रियावादीहरूको पाउमा चढाउन खोजिएको थियो,’ उनले भने, ‘देशभरीका कार्यकर्ताहरूले पार्टी जोगाउनुभएको छ ।’ एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिस्ट आन्दोलन सफल हुने ओलीको दाबी थियो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्वबिना नहुने उनको भनाइ थियो ।

ओलीले एमालेमा जति आन्तरिक जनवाद अरु कसैमा नभएको दाबी गरे । उनले आन्तरिक जनबादको माध्यमबाट पार्टी अझै मजबुत बनाइएको बताए । ‘विकास निर्माणका काममा गति लिएको सरकारकाविरुद्ध संगठित भएर प्रतिपक्षले विकासमा अवरोध पुर्याएर अन्ततः एमालेको सरकारलाई विकास गर्नबाट बञ्चित गरेको छ, एमाले फेरि त्यहीं ठाउँमा पुग्छ’, उनले भने ।

उनले वर्तमान सत्तारुढदलका नेताहरुको बुद्धिको बिर्को बन्द भएको बताउँदै अर्थमन्त्रीले संसदबाट बजेट पारित गर्नुपर्ने समयसीमाका बारेमा समेत थाहा नपाएको टिप्पणी गरे । मध्यरातबाट सरकारले एक रुपैयाँ पनि खर्च गर्न नपाउने उल्लेख गर्दै अध्यक्ष ओलीले संसदमा बलमिच्याइँ गरे पनि नियम र बिधि बुझ्न नसकेको बताए ।

एमालेका कार्यकर्ता दुःखी हुने होइन खुसी हुने बेला भएको बताउँदै ओलीले भने, ‘पिलो निचोरिएर गएका बेला सबै कार्यकर्ताहरुलाई उत्सव मनाउन आग्रह गर्छु ।’ । उनले एमाले सरकारले गरेको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर रोक्ने प्रयास गरिएको बताए । ‘हाम्रो सरकार तिव्र विकासको गतिमा अगाडि बढेको थियो । तर, अहिले हेर्नुस त दुई महिना भयो मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन’, उनले भने ।