March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

ओली नेतृत्वले देशलाई समृद्ध बनाउँछ : टोपबहादुर रायमाझी

बुटवल– नेकपा एमालेका नेता एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीले संसद पुनःस्थापना भएपछि पनि संसदमा फेरि केपी ओलीकै बहुमत आउने देखेपछि सीमा पारीदेखि मात्रै नभई समुन्द्रपारी देखि डिजाइन गरेर सर्वोच्चले परमादेश जारी गराइएको आरोप लगाएका छन् ।

साथै उनले पार्टी विभाजनपछि देखिएका परिदृश्यमा नअल्झन पनि कार्यकर्तालाई आग्रह गरेका छन् । उनले आफू माओवादीबाट एमालेमा जोडिएको उदाहरण दिंदै नेकपा एमालेको नेतृत्वमा देशको समृद्धितर्फ अघि बढ्न आग्रह गरे । ‘म एउटा माओवादी पृष्ठभूमिबाट यो प्रकृयामा जोडिएको व्यक्ति हुँ । हामी नेकपा एमाले र केपी शर्मा ओलीको नेतृत्वले अब देशलाई समृद्धि गर्छ र लक्ष्य प्राप्ति गर्छ भनेर जोडिएका छौं । साथीहरु अझ परपर जानु भाछ के सोचेर जानुभाछ ?’, उनले भने ।

बुटवलमा एमालेले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै नेता रायमाझीले आफूहरु फेरि एक पटक ‘टेस्ट’ हुन आवश्यक रहेको बताए । ‘लोकतान्त्रिक चुनाबको माध्यमबाट असफल पार्टी र नेतालाई ध्वस्त बनाउनु पर्छ । हामीहरु पुनः सत्तामा आउन जरुरी छ । हामी पुनः टेस्ट हुन आवश्यक छ’, उनले भने ।

Advertisement