पत्रकार चौहानको निधनप्रति महासंघ र प्रेस क्लबद्वारा दुःख व्यक्त
भैरहवा– नेपाल पत्रकार महासंघ, रुपन्देही र लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरले पत्रकार विन्दुकुमार चौहानको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्य, महासंघ लुम्बिनीका कार्यसमिति सदस्य र लुम्बिनी प्रेस क्लबका अनुशासन समिति संयोजक चौहानको गएराति मृत्यु भएको थियो ।
महासंघ रुपन्देही शाखा अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘लुम्बिनीलाई कार्यथलो बनाएर विगत २ दशकदेखि सक्रिय पत्रकार चौहानको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु पत्रकार गुमाएको छ भने पत्रकार महासंघ रुपन्देही शाखाले एक सक्रिय सदस्य गुमाएको छ ।’
यस्तै, प्रेस क्लब अध्यक्ष नरेश केसीले शोक वक्तत्व जारी गर्दै क्लबको स्थापनाकालदेखि हालसम्म विभिन्न पदीय जिम्मेवारीमा रहेर संस्थागत विकासमा सक्रियतापूर्वक लागेका चौहानको निधनले नेपाली पत्रकारिता जगतले एक असल, इमान्दार र मेहनति पत्रकार गुमाएको जनाएका छन् ।
‘दिनरात नभनी लुम्बिनी क्षेत्रबाट पत्रकारिता मार्फत सामाजिक रुपान्तरणका लागि योगदान दिइरहनुभएका चौहान एक निडर, निष्ठावान, इमान्दार र असल पत्रकार हुनुहुन्थ्यो । तराई मधेसमा नेपाली पत्रकारिताको जग बलियो बनाउन उहाँले जीवन पर्यन्त खेलेको भूमिका सधैं स्मरणीय रहनेछ । अभाब र दबाबकाबीच पनि विकृति, विसङ्गति, भ्रष्टाचार, कुसंस्कार जस्ता सामाजिक अपराधकाविरुद्ध जीवनपर्यन्त सतिसालझै खडा भएर निष्ठाको पत्रकारिता गर्ने चौहानको सदाचारिता नेपाली पत्रकारिताका लागि अनुकरणीय रहनेछ’, क्लबले जारी गरेको शोक वक्तव्यमा भनिएको छ ।
प्रतिकृया दिनुहोस्