March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

फेरि स्थगित भयो लुम्बिनी प्रदेशसभा बैठक

बुटवल– लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित भएको छ । भोलि बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रदेशसभाको बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ः०० बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

Advertisement

प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बुटवल आउने भएपछि भोलिका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको बताइएको छ ।

Advertisement

सदन बहिष्कार र अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई फकाउने प्रयासस्वरुप प्रदेशसभा बैठक स्थागित गरिएको हो । एमालेले भदौ १ गतेदेखि नै निरन्तर सदनमा अवरोध एवम् बहिष्कार गरिरहेको छ । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले आफ्नो पार्टीको कार्यक्रम भएको सत्तारूढ दलका सचेतकहरूलाई जानकारी दिएको बताए ।

एमालेले आफ्नो पार्टीले कारबाही सिफारिस गरेका दुई सांसदलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने अडान लिएको छ । कांग्रेस प्रमुख सचेतक फखरूद्दिन खानले एमालेको विशेष कार्यक्रम भएकाले बुधबारको बैठक सार्ने सहमति भएको जनाए ।