September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

प्रतिमान–नीमाद्वारा बागमती प्रदेशलाई स्वास्थ्य सामग्री प्रदान

भैरहवा– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई यहाँको प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा भएको कार्यक्रममा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे लगायतको उपस्थितिमा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

प्रतिष्ठानले कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्ने गरी सामाग्री हस्तान्तरण गरेको हो । थापाका अनुसार फाउण्डेशनले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एननाइन्टी फाइप मास्स एक हजार ८ सय मास्क ८ हजार ४ सय, थर्मोमिटर २० थान, पीपीइ २ सय ७६ थान, ग्लोब्स एक लाख थान लगायतका विभिन्न सामग्री हस्तान्तरण गरेको हो ।

मुख्यमन्त्री शाक्यले स्वास्थ्यको गम्भिरतालाई ध्यानमा राखेर सरकारले काम गर्ने बताइन् । यस्ता सहयोगले महामारी रोकथाममा सहयोग पुग्ने उनले जनाइन् ।