अनेरास्ववियुद्वारा भैरहवा बहुमुखी क्याम्पसमा तालाबन्दी
भैरहवा – नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुल्क बृद्धिको विरोधमा भैरहवा बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।
अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेले शुल्क बृद्धि फिर्ता गर्न क्याम्पस प्रशासनलाई ४८ घण्टाको अल्टिमेटम दिएको तर सुनुवाई नभए पछि तालाबन्दी गरिएको बताए । क्याम्पस प्रशासनले एमबीएसमा १० प्रशितत शुल्क बृद्धि गरेको थियो । यसअघि ६७ हजार शुल्क थियो । यसमा १० प्रतिशत बृद्धि गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
संगठनले बुधबार क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेको हो । सोमबार चालु शैक्षिक सत्रको पुरानै शिक्षण शुल्क लिन माग गर्दै क्याम्पस प्रमुख अनिलकुमार झालाई संगठनले ध्यानाकर्षण पत्र बुझाएको थियो । ‘हाम्रो मागलाई प्रशासनले पूर्णरुपमा बेवास्ता गर्यो’, अध्यक्ष न्यौपानेले भने, ‘त्यसैले बाध्य भएर तालाबन्दी गरेका हौं ।’
अनेरास्ववियु क्याम्पस कमिटी सचिव आशिष पन्तले माग पूरा नभए थप कार्यक्रम गरिने बताए । ‘तालाबन्दीलाई पनि बेवास्ता गरियो भने अन्य सशक्त कार्यक्रम गरी प्रशासनले बढाएको शुल्क घटाएरै छाड्छौं’, उनले भने ।
क्याम्पस प्रशासनले भने त्रिभुवन विश्वविद्यालयको नियमानुसार भन्दै स्नातकोत्तर तहमा शुल्क बृद्धि गरेको दावी गरेको छ । अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष न्यौपानेले विद्यार्थीको हकहीत र शैक्षिक संस्था सुधारका लागि आफूहरु लागि पर्ने जनाउँदै थप संघर्षका कार्यक्रम गर्न बाध्य नपारी बढाइएको शुल्क घटाउन क्याम्पस प्रशासनलाई चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस्