April 18, 2025, Friday
२०८२ बैशाख ५

चीन विरोधी गतिविधि गर्न एमसीसी : केसी

बुटवल– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीमार्फत् नेपाललाई चीन बिरोधी अखडा बनाउन लागिएको दावी गरेका छन् । मंगलबार बुटवलमा आयोजित बिरोध सभामा बोल्दै केसीले एमसीसीका नाममा नेपालमा अमेरिकी सेना भित्र्याएर चिन बिरोधी मोर्चा बनाउन नेपाललाई समेत सामेल गर्ने अभियानमा सरकार लागेको आरोप लगाए ।

अध्यक्ष केसीले अमेरिकाको दवावमै पटक–पटक सदनमा एमसीसी ल्याउन खोजिएको दावी गरे । पछिल्लो समय चीन विश्वमा शक्तिशाली बन्दै जाँदा अमेरिकालाई भालुको कंचट बनेकाले चीनलाई कमजोर बनाउन नेपाललाई प्रयोग गरेर अगाडि बढ्न खोजेको बताए ।

Advertisement

‘अमेरिकी योजनामा चीन र उत्तर कोरियालाई एशियामा एक्लो पार्नका लागि नेपाललाई किन्न खोजिएको हो’, उनले भने । केसीले ५५ अर्बको लोभ देखाएर नेपाली भूमि प्रयोग गर्न खोजेको जिकिर गरे ।

केसीले एमसीसीका बुँदा परिमार्जन गर्ने आग्रह कुनै हालतमा अमेरिकाले स्वीकार नगर्ने ठोकुवा गर्दै नेपालको कानून भन्दा अमेरिकाको कानुन र बौद्धिक सम्पत्तीमा समेत नेपालको अधिकार नहुने प्रावधान नै नेपाललाई चीन बिरोधी अखडा बनाउने योजनाका साथ आएको दावी गरे ।

केसीले नेपाली युवालाई भारतीय सुरक्षाकर्मीले तुइन काटेर नदीमा बेपत्ता पार्दा पनि सत्तारुढ गठबन्धनका कुनै पनि दल नबोलेको आरोप लगाए । उनले सरकार निर्माणमा आफ्नो पार्टीको पनि समर्थन रहे पनि सरकार संचालनमा भने राष्ट्रिय जनमोर्चाको समर्थन नरहेको स्पष्ट पारे ।