May 12, 2025, Monday
२०८२ बैशाख २९

मोतीराम भट्ट साहित्य पुरस्कार पाण्डेयलाई

बुटवल – साहित्यकार पुरुषोत्तम पाण्डेय पुरस्कृत भएका छन् । नव जागृति पुस्तकालय बुटवलले स्थापना गरेको मोतीराम भट्ट साहित्य पुरस्कार–२०७८ बाट उनलाई पुरस्कृत गरिएको हो । पाण्डेयलाई पाँच हजार पाँच नगदसहित मोतिराम भट्टको १५६औँ जन्मजयन्तीको अवसरमा मंगलबार बुटवलमा सम्मान गरिएको हो ।

पुस्तकालयले नेपाली साहित्यका मूर्धन्य प्रतिभा आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रकवि माधव घिमिरको नाममा कविहरूको जन्मजयन्तीका अवसरमा प्रदान गर्ने गरी ६ वटा साहित्यिक पुरस्कार स्थापना गरेको छ ।

यस वर्षदेखि सुरुवात गरिएका पुरस्कारहरूमध्ये यसअघि असार २९ गते आदिकवि भानुभक्त आचार्य पुरस्कार वरिष्ठ साहित्यकार अजम्बरध्वज खातीलाई प्रदान गरिएको थियो । पुस्तकालयका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षता, साहित्यकार कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता, पुस्तकालयका वरिष्ठ उपाध्यक्ष बेन बहादुर पौडलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रा.डा. हिरण्यलाल ज्ञवालीले मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गर्दै सम्मानित स्रष्टाको व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए ।