कोरोनाको जस्तै मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस कति खतरनाक ?
भैरहवा– कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षणसहित बिरामी भएमा ‘स्क्रब टाइफस’ को परीक्षण गराउन अनुरोध गरिएको छ । कोभिडको नतिजा नेगेटिभ आए पनि उस्तै लक्षण देखिए स्क्रब टाइफस हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्क्रब टाइफसको संक्रमण भएमा सुरुमा छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निनेजस्ता लक्षण देखापर्न थाल्छन् ।
के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस मुसा खरायो लगायतका रौँ भएका जीवजन्तुमा पाइने एक प्रकारको संक्रमित किर्नाको टोकाइबाट मानिसमा सर्ने संक्रमण हो । यस्ता जीवजन्तुमा पाइने किर्ना ‘ओरिन्सिया सुसुगामासी’ नामक जीवाणुबाट संक्रमित छ भने उक्त किर्नाले मानिसलाई टोकेमा यो संक्रमण सर्दछ ।
नेपालमा सन् २०१३ मा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको एक सर्वेक्षणमा प्रत्येक १० मध्ये ७ वटा मुसामा यस्तो किर्ना भेटिएको थियो । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यो किर्नाको टोकाइको असर २४ देखि ४८ घण्टाभित्र देखापर्छ ।
घरमै मुसा बस्नै वातावरण भए टाइफस सर्ने सम्भावना बढी हुन्छ । यसबाहेक झाडी, बाक्लो घाँस भएको ठाउँ आदिमा मुसा बस्ने हुँदा खेतबारीको काम गर्ने क्रममा समेत यो रोग सर्ने गर्दछ ।
यी हुन् स्क्रब टाइफसका लक्षणहरू
स्क्रब टाइफसको संक्रमण भएमा सुरुमा छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निनेजस्ता लक्षण देखापर्न थाल्छन् । विस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने स्वासप्रस्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्छन् र टोकेको ठाउँमा कालो सानो दाग बस्दै जान्छ ।
कसरी गर्ने उपचार ?
स्क्रब टाइफस आफैँमा खतरनाक रोग होइन । तर, समयमै रोग पत्ता नलाग्दा र औषधिको उचित प्रयोग नगरेमा बिरामीको ज्यान जाने खतरा हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यसको समयमै उपचार नभए फोक्सो, कलेजो, मस्तिष्क आदिमा असर पुर्याएर धेरैवटा अंगमा एकैपटक असर पर्ने (मल्टि अर्गान डिस्फङसन) समेत हुनसक्छ ।
डा. पुनका अनुसार यसको उपचारमा ‘डक्सिसाइक्लिन’ नामक औषधिको प्रयोग गरिन्छ । उल्लेखित लक्षण देखिए चिकित्सकको सल्लाह अनुसार औषधि खानुपर्छ । टाइफाइडसँग मिल्दोजुलदो लक्षण देखिने हुँदा नेपालमा स्क्रब टाइफसको पहिचानमा अझैपनि ढिलाइ हुने गरेको डा. पुनको अनुभव छ । जसकारण बिरामीको उपचार प्रक्रिया समेत लम्बिने गरेको छ ।
रगत परिक्षणको माध्यमबाट स्क्रब टाइफस पत्ता लगाउन सकिन्छ । सरकारीस्तरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्क्रब टाइफसको परीक्षण गरिन्छ । समयमै पत्ता लागे औषधि सेवन सुरु गरेको १ देखि २ दिनमा स्क्रब टाइफस निको हुन्छ ।
प्रतिकृया दिनुहोस्